सीएसआरको रकम खेल क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउन माग

हिमाल प्रेस ४ जेठ २०८० १५:१२ | Thursday, May 18, 2023
सीएसआरको रकम खेल क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउन माग

काठमाडौँ- नेपाल सुपर लिगले विभिन्न व्यवसायको सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम खेल क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउन माग गरेको छ। लिग अध्यक्ष आश्रयता कार्की चौधरीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सीएसआरको रकम खेल क्षेत्रमा खर्च गर्नका लागि आवश्यक पहल गरिदिन माग गरिन्।

सीएसआरको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकेमा नेपाली खेल क्षेत्रले फड्को मार्ने उनले बताइन्। नेपाल सुपर लिगले नेपाली खेल क्षेत्रमा निजी क्षेत्रलाई जोडेको र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउने काम गरिरहेको अध्यक्ष चौधरीले बताइन्।

साथै विभिन्न प्रतियोगितामार्फत खेल क्षेत्रलाई थप व्यावसायिक र अन्तराष्ट्रियकरण गर्ने प्रयास गरिरहेको पनि उनले बताइन्। प्रधानमन्त्रीसँगको भेट गर्न अध्यक्ष चौधरीसँगै नेपाल सुपर लिगका प्रबन्धक निर्देशक श्रीयान्स कार्की र प्रमुख कार्यकारी अधिृकत सुदीप शर्मा पनि गएका थिए।

उनीहरूले नेपाली खेल क्षेत्रका सम्भावनाबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराए। सीमित स्रोत, साधन र लगानीमा पनि नेपाली खेलकुद क्षेत्रले उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको उनीहरूको भनाइ थियाे।

हालै नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा छाडेको छाप ऐतिहासिक रहेको लिगका पदाधिकारीहरूको भनाइ छ। ‘यदि सम्पूर्ण खेलकुद क्षेत्रमा उचित लगानी र निजी क्षेत्रलाई पनि सम्मिलित गराउने हो भने समग्र नेपाली खेलकुद क्षेत्रले काँचुली फेर्न सक्छ,’ प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि लिगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

खेलाडी र खेलकर्मीहरूले खेलेरै जीवन निर्वाह गर्ने वातावरण बनाउन सकिने भन्दै त्यसका लागि व्यवसायहरूको सामाजिक उत्तरदायित्वमा छुट्टाइएको रकम खेलकुद क्षेत्रमा खेल र खेलाडीको प्रोत्साहनमा प्रयोग गर्न पाइने नियम लागू हुनुपर्ने माग लिगले गरेको छ।

सीएसआरको रकम खेलकुद क्षेत्रमा खर्च गर्न सकिएमा खेलकुद क्षेत्रमा लगानी बढ्ने र समग्र खेलकुद क्षेत्रलाई उकास्न सहयोगी बन्ने लिगको भनाइ छ।

प्रकाशित: ४ जेठ २०८० १५:१२ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast