सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीचको छलफलमा गृहमन्त्री श्रेष्ठ थपिए

हिमाल प्रेस २७ वैशाख २०८० १६:०९ | Wednesday, May 10, 2023
सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीचको छलफलमा गृहमन्त्री श्रेष्ठ थपिए

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा जारी शीर्ष नेताको छलफलमा गृहमन्त्री पनि थपिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल चलिरहेकै समयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रवेश भएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि नेताहरू छलफलमा जुटेका हुन्। नेताहरूबीच अहिले नक्कली शरणार्थी प्रकरणबारे नै छलफल भइरहेको बताइएको छ।

अहिलेसम्म यो प्रकरणमा मुछिएका १२ जना पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरूले नै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि आरजु देउवा, आज पक्राउ परेका खाणकी पत्नि मञ्जुसहितको नाम पनि लिएका छन्। उनीहरू जोडिएको अडियो पनि केही दिनअघि सार्वजनिक भएको थियो। प्रहरीले उक्त अडियोमा उठेका विषयलाई पुष्टि गर्ने प्रमाण जुटाउने काम गरिरहेको बताइएको छ।

त्यस्तै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि यो प्रकरणमा मुछिएका छन्। उनीविरुद्धगत बुधबार नै पक्राउ पुर्जी जारी भइसकेको छ। तर उनी अहिलेसम्म फरार छन्।

एमालेले उनलाई अनुसन्धानमा सहयोग गर्न र सम्पर्कमा आउन भन्दै पदबाट निलम्बन पनि गरेको छ। एकपछि अर्को शीर्ष नेता यो प्रकरणमा तानिन थालेपछि ठूला दलका नेतृत्व छलफलमा जुटेका हुन्। उनीहरूको छलफललाई निकै चासोका साथ हेरिएको छ। उनीहरूबीच केहीदिन यता हुने गरेको छलफल अपारदर्शी भएको भन्दै आलोचना पनि हुँदै आएको छ।

प्रकाशित: २७ वैशाख २०८० १६:०९ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast