 
                            
                                            काठमाडौँ- दिल्ली क्यापिटल्सलाई हराएसँगै चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो स्थानमाथिको पकड कसिलो बनाएको छ। चेन्नाईले घरेलु रंगशाला एमए चिदम्बरममा बुधबार राति दिल्लीमाथि २७ रनको जित हात पार्यो। चेननाईका लागि आईपीएलमा यो लगातार दोस्रो जित हो।
अब चेन्नाईसँग १२ खेलबाट १५ अंक भएको छ। चेन्नाईभन्दा बढी अंक भएको टिम गुजरात टाइटन्स हो। जसले चेन्नाईभन्दा एक खेल खेलेर एक अंक बढी बटुलेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६७ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको दिल्ली १४०/८ मा सीमित भयो। चेन्नाईका लागि यो जित यसपालिको आईपीएलमा सातौँ हो। उता दिल्ली भने ११ औँ खेल खेल्दा सातौँ पटक हारेको हो। जम्मा चार खेल जितेको दिल्ली हाल अंक तालिकाको पुछारमा छ।
प्लेअफतर्फ अघि बढ्न चाहिरहेको चेन्नाईले दिल्लीलाई हराउँदा बलिङ क्षमताको भरपूर उपयोग गर्यो। खासै ठूलो लक्ष्य नपाएको दिल्लीलाई जितबाट वञ्चित गर्न चेन्नाईका माथिशा पाथिरानाले तीन विकेट हात पारे। उनको बलिङको सिकार मानिष पाण्डे (२७), अक्सर पटेल (२१) र ललित यादव (१२) बने। त्यसैगरी दीपक चहारको नाममा दुई विकेट रह्यो। उनले दुई ओपनर डेभिड वारनर र फिल साल्टलाई आउट गरे। कप्तान वारनर शून्य र साल्ट १७ रनमा समेटिएका थिए।
चेन्नाईका बलरसामु निरीह देखिएका दिल्लीका ब्याट्सम्यानहरुले कुल १० चौका मात्र प्रहार गर्न सके। सुरुवाती चार ओभरभित्र तीन ब्याट्सम्यान गुमाएको दिल्लीले रिले रुसौले बनाएको ३५ रन सर्वाधिक स्कोर रह्यो।
त्यसअघि चेन्नाईले पनि औसत ब्याटिङ गरेको थियो। रुतुराज गैकवार्ड र डेभोन कोन्वेले पाँचौँ ओभरभित्र पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेपछि चेन्नाईल ठिकठाक सुरुवात गरेको थियो। मध्यक्रमका तीन ब्याट्सम्यान शिवम दुबेले १२ बलमा २५, अम्बाती रायडुले १७ बलमा २३ र रवीन्द्र जडेजाले १६ बलमा २१ रन बनाए। कप्तान महेन्द्र सिंह धोनीले नौ बलमा २० रन जोडे।
दिल्लीले नयाँ सिजनको आईपीएलमा खराब सुरुवात गरेको थियो। लगातार पाँच खेल हारेको दिल्लीले पछिल्लो समय भने सम्हालिने संकेत गरेको थियो। यसको प्रमाण हो, चेन्नाईसँग भिड्नुअघिका पाँच खेलमा चार जित।
यद्यपि रिक्की पोन्टिङ मुख्य प्रशिक्षक र सौरभ गांगुली क्रिकेट प्रमुख रहेको दिल्लीको आलोचना भने भइरहेको छ। यसपल्टको आईपीएलका लागि दिल्लीले खेलाडी स्काउटिङमा ध्यान नपुर्याएको बताइँदैछ।
मनिष पाण्डे, रिपाल पटेल, ललित यादव र अमान खान जस्ता भारतीय ब्याट्सम्यानको भरोसामा अघि बढ्दा दिल्ली खराब स्थितिमा पुगेको विश्लेषण छ।
दौडिन बाध्य नबनाऊ
दिल्लीविरुद्धको खेलमा रन लिन दौडिरहँदा धोनी थकित देखिएका थिए। खेलपछि उनले साथी खेलाडीहरुलाई आफूलाई दौडिन बाध्य नबनाउन भनेको टाइम्स अफ इन्डियाको रिपोर्टमा उल्लेख छ।
आईपीएलमा सम्भवतः अन्तिम सिजन खेलिरहेका धोनी हाल तल्लोक्रममा ब्याटिङ गरिरहेका छन्। आठ नम्बरसम्म पुगेर ब्याटिङ गर्ने गरेको धोनी कम बलमा धेरै रन बनाउन खोजिरहेका हुन्छन्। बुधबारको खेलमा उनले ठ्याक्कै त्यही गरे। ‘मेरो जिम्मेवारी तल्लोक्रममा आउने, थोरै बलमा धेरै रन बटुल्ने हो। म त्यही गरिरहेको छु। मैले मेरा टिमका खेलाडीहरुलाई मलाई धेरै नदौडाउन भनेको छु,’ धोनीले जितपछि भने।
कप्तान धोनीले आफ्नोे टिमको ब्याटिङमा सुधार गर्न सकिने ठाउँ रहेको पनि बताए। ‘१६६–१७० रन खराब स्कोर होइन। तथापि ब्याटिङमा सुधार गर्ने ठाउँ प्रशस्त छ। मोइन अली र जडेजाले पनि ब्याटिङ गर्न पाएका छन्, यसलाई सकारात्मक मान्नु पर्छ। किनभने हामी आईपीएलको उत्तराद्र्धतिर पुग्दैछौँ। यो बेला सबैले ब्याटिङ अनुभव बटुलेकै राम्रो,’ धोनीले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 