सचिव पाण्डेको जिकिर : शरणार्थी प्रकरण राजनीतिक परियोजना हो [प्रहरीलाई दिएको बयानसहित]

हिमाल प्रेस ९ जेठ २०८० १९:४३ | Tuesday, May 23, 2023
सचिव पाण्डेको जिकिर : शरणार्थी प्रकरण राजनीतिक परियोजना हो [प्रहरीलाई दिएको बयानसहित] टेकनारायण पाण्डे

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले भुटानी शरणार्थी प्रकरण राजनीतिक विषय भएकाले प्रतिवादी केशवप्रसाद दुलालसँग कुराकानी भएको दाबी गरेका छन्। उनले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे।

उनले भनेका छन्, ‘विगतदेखिको गतिविधि र हाम्रो कार्यकालमा यस विषयमा सम्पर्कमा आएका व्यक्तिहरुको कनेक्सन हेर्दा शरणार्थी समस्यालाई राजनीतिक परियोजनाका रुपमा विकास गरेको देखिन्छ।’ उनले मन्त्रालयमा राजनीतिक रुपमा सम्पर्कमा आएका वेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिने बताएका छन्। उनले भनेका छन्, ‘राजनीतिक कनेक्सनको विषय भएकाले मैले यस विषयलाई सचेतना र सतर्कतापूर्वक लिएर जाहेरीका प्रतिवादी केशव प्रसाद दुलालसँग आवश्यक सूचना प्राप्तिका लागि निकटता कायम गर्न आवश्यक भएकाले बढी कुराकानी भएको देखिएको हो।’

पाण्डेले दिएको बयान

प्रतिवादीहरूमध्ये केशव प्रसाद दुलालसँग मात्र मेरो चिनजान छ, निजहरूबाहेक अन्य प्रतिवादीहरूसँग मेरो चिनजान छैन, प्रतिवादी केशवप्रसाद दुलालसँग म आफू गृह मन्त्रालयमा कार्यरत रहँदाको अबस्थामा चिनजान भएको हो। म मिति २०७८ साल श्रावण २७ गतेदेखि मिति २०७९ भाद्र मसान्त सम्म कार्यरत रहेको हुँ। प्रतिवेदन मेरो कार्यकालमा तयार भएको होईन। मुख्य सचिवज्यूको हस्ताक्षरित नेपाल सरकारको निर्णय मेरो कार्यकाल भन्दापूर्वको हो, मेरो कार्यकालमा थप परिचय पत्र वितरणको (वास्तविक भुटानी शरणार्थीका सन्तानवाहेक) मन्त्रालय र नेपाल सरकारको तहबाट कुनै निर्णय भएको छैन, पेश भएका परिचय पत्रको सत्यताको विषयमा सम्बन्धित शरणार्थी ईकाई र जिल्ला प्रशासन कार्यालय झापालाई बुझ्नु पर्ने हुन्छ।

म कार्यरत रहँदाको समयमा परिचय पत्रहरू वितरण गर्ने कार्य भएन, शरणार्थी सम्बन्धी कार्य मन्त्रालयको स्थानिय प्रशासन शाखाले गर्दछ। मेरो कार्यकाल भन्दा पूर्व नै प्रतिवेदन तयार भएको र प्रतिवेदनमा शरणार्थीको नाममा व्यक्तिहरूको नामावली समावेश भएको सो नाममा सम्पूर्ण लेनदेनको कार्य त्यही समयमा भएको देखिन्छ। मेरो कार्यकालमा गैह्र भुटानी शरणार्थीलाई शरणार्थी पहिचान दिने गरी कुनै काम कारवाही भएको छैन। साथै भुटानी शरणार्थीको तेश्रो देश स्थानान्तरण नहुने र शरणार्थीको नाममा हुने अवैध चलखेल प्रति सचेत रहन मिति २०७८ र २०७९ मा UNHCR, शरणार्थी ईकाई झापा र जिल्ला प्रशासन कार्यालय झापावाट सूचना तथा विज्ञप्ति जारी भएको थियो।

यस अवस्थामा शरणार्थीको नाममा लेनदेन गर्नु मेरो कल्पना र आचरण विपरितको कार्य भएकोले सो कार्य मबाट भएको छैन। यस विषयमा तत्कालिन अवधिका सम्बन्धित विषयका कागजात र प्रतिवेदनवाट स्पष्ट हुन्छ। शरणार्थीको सम्बन्धमा मानवीय रुपमा समाधान गर्नु पर्ने विषयमा मेरो कार्यकालमा नेपाल सरकारबाट भुटानी शरणार्थीलाई उपलब्ध गराउने मानवीय सहायताको सम्बन्धमा निर्णय भएको छ। गृह मन्त्रालयबाट भुटानी शरणार्थी र प्रतिवेदनको फिल्डको अबस्था सम्बन्धमा वास्तविकता पेश गर्न मिति २०७८ सालमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक सिडिओको संयोजकत्वमा समिति गठन भई उक्त समितिले काम गरी रहेको अवस्था थियो।

शरणार्थी र प्रतिवेदनमा भएका व्यक्तिहरूको शरणार्थी सिविर सँगको सम्बन्ध र वास्तविकता सो समितिबाट बुझ्न सकिन्छ। मेरो कार्यकालमा भुटानी शरणार्थीको नाममा विदेश पठाउने चलखेल जवाफ १६ को सन्दर्भबाट रोक लागे हो। उक्त कार्यमा रोक लागेपछि भुटानी शरणार्थीको नाममा पैसा उठाईएका/पैसा दिने व्यक्तिहरूले पैसा फिर्ता माग गरेपछि निजले प्रतिशोधस्वरुप मलाई आक्षेपित गरेको हो। निजको आरोपमा कुनै सत्यता छैन।

उक्त कुराकानी बिजू र म विच भएको कुराकानी हो, गृह सचिवले अनुसन्धान प्रयोजनको लागी सम्पर्कमा आउनेमध्ये आवश्यक ठानिएको व्यक्तिसँग आवश्यक सूचना संकलन गर्न, सूचनाको विश्लेशण गर्न र सो को आधारमा आवश्यक निर्णय गर्न वा नगर्न सूचनाको उपयोग गर्न सक्छ, प्रस्तुत कुराकानीको आधारमा भुटानी शरणार्थीको लामो समयदेखि चलिआएको विषयलाई एउटा टुङगोमा पुऱ्याउन निर्णय प्रकृयाको लागि उपयोग गरिएको छ। गृह मन्त्रालय राजनितिक प्रकृतिको तथा जन-सम्पर्क मन्त्रालय रहेको छ, सम्पर्कमा आउने व्यक्तिहरूलाई राजनितिक रुपमा, व्यक्तिगत रुपमा र सुरक्षा तथा गुप्तचरी प्रकृयाबाट सम्पर्क गर्ने तथा थप सूचना लिनु पर्ने हुन्छ।

सूचना, गुप्तचरी र अनुसन्धानकै क्रममा निजसँग सम्पर्क भएको, प्राप्त सूचना र सम्पर्कको राजनितिक नेतृत्वलाई समय-समयमा जानकारी गराउने गरेको थिए। प्राप्त सूचना समेतको आधारमा भुटानी शरणार्थीको समस्या मा को विकृतिजन्य अबस्थाको अन्त्य गर्न नेपाल सरकार र गृह मन्त्रालयबाट आवश्यक निर्णय भएको थियो। निजसँग रकम लेनदेनको उद्देश्यले सम्पर्क स्थापित गरिएको थिएन। म गत असोजमा दिल्लीमा उपचारमा जाँदा मोवाईल विग्रेको हुँदा बनाउन लगाएको थियो, बनाउने क्रममा मोवाईलमा भएको डाटाहरू उडेको हुन सक्छ, यसमा मेरो कुनै बदनियत छैन।

सूचना संकलनकै क्रममा उक्त कुराकानी भएको हो। उक्त सूचना प्राप्त भएपछि एअरपोर्टका तत्कालीन प्रहरी प्रमुख र प्रहरी महानिरीक्षकसँग एअरर्पोटबाट तस्करीको लागि दलालहरूले यसरी प्रयास गरी रहेका छन, सो नियन्त्रण गर्नको लागि कदम चाल्न निर्देशन भएको हो। सो पश्चात सबै भन्दा प्रभावकारी रुपमा सुन तस्करी नियन्त्रण भएको अभिलेखबाट समेत देख्न सकिन्छ। वदनियत राखी आर्थिक लेनदेनको लागि कुनै पनि कुराकानी भएको छैन र कुराकानीमा भनिए जस्तै कुनै पनि प्रकृतिको सहयोग प्रतिवादीलाई गरिएको छैन।

मेरो कार्यकालमा कसैलाई शरणार्थी बनाउने र परिचय पत्र वितरण गर्ने काम भएको थिएन, निज प्रतिवादीलाई शरणार्थी बनाउने आश्वासन पनि दिएको थिएन र सो वापत प्रतिवादीले भने जस्तै रकम लेनदेन हुने कुरै भएन। हाल सम्म मेरो पिएसओ तथा ड्राइभरको रुपमा कामती थरको कुनै प्रहरी कर्मचारी खटिएको अवस्था छैन। साथै निजले भने जस्तो रकम लिएको र फोनवाट जवाफ दिएको छैन। भुटानी शरणार्थी समस्याका विषयमा मेरो स्पष्ट बुझाई छ।

जुन उद्देश्य र प्रयोजनका लागी समिति गठन र प्रतिवेदन तयारी भयो, त्यसले समस्यालाई सुल्झाउने भन्दा विकृति सृजना गरेको मेरो कार्यकालमा सूचना प्राप्त भयो। प्रतिवादी लगायतलाई सोही विषयको सूचना संकलनको लागि उपयोग गरिएको हो। प्रतिवेदन र त्यसबाट श्रृजित परिस्थितिलाई मेरो मन्त्रालयको टिमले सशंकित र सचेत रुपमा विश्लेषण गरेका थियौं। प्रतिवेदनमा उल्लेखित व्यक्तिहरूको शरणार्थी शिविर र शरणार्थीसँगको सम्बन्धको विषयमा यथार्थ विश्लेषण गर्नु आवश्यक थियो, त्यसको लागी सो विषयमा नेपाल सरकार र मन्त्रालयको तहबाट आवश्यक निर्णय भएको हो।

शरणार्थी समस्याको विकृतिमा संलग्न मानिसहरूसंग जोडिएर उनिहरूको लोभ लालचमा पर्ने भन्ने मेरो कल्पना र आचरण बाहिरको विषय हो। त्यसमा म लोभिएको, झुक्किएको र कुनै रुपमा पनि संलग्न छैन। अवैध कृयाकलापमा संलग्न व्यक्तिहरूको समूहलाई उपयुक्त समयमा सकभर एकै पटक कानुनको दायरामा ल्याउन तत्कालिन अपराध महाशाखा प्रमुख र प्रहरी महानिरीक्षकसँग छलफल तथा निर्देशन भएको थियो। मैले पदिय जिम्मेवारी दायित्व र आचरण अनुसार आफ्नो भूमिका निर्वाह गरेको छु। अवान्छित गतिविधिमा मेरो कुनै संलग्नता छैन।

शरणार्थीको सम्बन्धमा जे-जति विषयहरू उठान भए र मुद्धाहरू सृजित भए ती सबै प्रतिवेदन तयारीका लागि समिति गठन र प्रतिवेदन तयारीवीचको अवधिमा भएको देखिन्छ। मेरो कार्यकालमा शरणार्थी समस्याका विषयमा प्राप्त सूचनाका आधारमा तेश्रो देश स्थानान्तरणका नाममा सूचीमा नाम समावेश व्यक्तिहरूलाई अल्झाउने, अल्मल्याउने प्रकृया चलिरहेकोमा त्यसको निकास खोज्न आवश्यक निर्णय भई विचल्लीमा परेकाहरूले गुहार माग्ने र थप विचल्लीमा कोही पनि व्यक्ति नपर्ने अवस्थाको सृजना भएको हो। मेरो कार्यकालमा शरणार्थीको नाममा व्यक्तिलाई अल्झाउने र नाजायज फाइदा लिने उद्देश्यले कुनै काम भएको छैन भन्ने व्यहोराको प्रतिवादी टेक नारायाण पाण्डेको बयान कागज।

प्रकाशित: ९ जेठ २०८० १९:४३ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast