 
                             
                                            काठमाडौँ– नेपाली कांग्रेसका सांसद एवं पूर्वशिक्षामन्त्री अर्जुननरसिंह केसीले देश संघीयतामा गएको लामो समय भइसक्दा पनि संघीय शिक्षा ऐन जारी नहुँदा शिक्षामा संघीयता नआएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै पूर्वशिक्षामन्त्रीसमेत रहेका केसीले विद्यालय शिक्षा निःशुल्क र सर्वसुलभ बनाउने भनिए पनि संघीयतामा प्रवेश गरेको झण्डै आठ वर्षसम्म पनि संघीय शिक्षा नीति तर्जुमा गर्न नसकिएको बताए।
उनले भने, ‘संघीय शिक्षा ऐन जारी भएको छैन। उच्च शिक्षा नीति तर्जुमा हुन सकेको छैन। २०५६ सालमा आएको शिक्षा नीतिमा परिवर्तन हुन सकेको छैन। शिक्षा ऐन नहुँदा केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वय हुन सकेको छैन। यसले शैक्षिक अराजकता मौलाएको छ।’
विश्वविद्यालय शिक्षाको गुणस्तर सुधार हुन नसकेको र एउटै खालका विश्वविद्यालयको आवश्यकता नभएको नेता केसीको भनाइ छ। उनले भने, ‘विश्वविद्यालय खोल्ने भनेको स्कुल खोलेजस्तो होइन। बजारको माग, अन्तर्राष्ट्रिय मान्यता र मापदण्डलाई ख्याल गरेर मात्र नयाँ विश्वविद्यालय स्थापना गर्नुपर्छ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 