 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय हुनुपर्ने बताएका छन्। सोमबार राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौति तथा समाधानका भावी कार्यशाला’सम्बन्धी कार्यक्रममा बोल्दै उनले दुई नीतिबीच समन्वय आवश्यक हुने बताएका हुन्।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र बजारले वित्त नीतिभन्दा मौद्रिक नीतिमार्फत बढी अपेक्षा गरेको उनको भनाइ थियो। मौद्रिक नीतिबाट सरोकारवालाले धेरै अपेक्षा गरे पनि मौद्रिक नीतिमा सीमितता रहेकाले सबै अपेक्षा समेट्न नसक्ने गभर्नर अधिकारीको भनाइ थियो।
राजनीतिक व्यवस्थामा ‘चेक एन्ड ब्यालेन्स’ भएजस्तै मौद्रिक नीति र वित्त नीतिमा पनि ‘चेक एन्ड ब्यालेन्स’ आवश्यक रहेको उनको भनाइ थियो। बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण यो वर्ष बाह्य क्षेत्रमा सहज रहे पनि आगामी दिनमा चुनौतिपूर्ण रहेको उनले औँल्याए।
गभर्नर अधिकारीले सरकारले राजस्व संकलन वृद्धि, करको दायरा बढाउने र भन्सारमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए। मुलुक औद्योगिक क्षेत्रको विकासमा धेरै पछाडि परेको भन्दै गभर्नर अधिकारीले यसअघि घोषणा गरिएका औद्योगिक क्षेत्र पीपीपी मोडलमा भए पनि सञ्चालनमा ल्याउनुपर्ने बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 