राष्ट्रद्रोहको अपराधलाई भ्रष्टाचार मुद्दामा सीमित नबनाउन अपिल

हिमाल प्रेस ११ जेठ २०८० १५:५५ | Thursday, May 25, 2023
राष्ट्रद्रोहको अपराधलाई भ्रष्टाचार मुद्दामा सीमित नबनाउन अपिल शरणार्थी प्रकरणमा थुनामा रहेका खाण र रायमाझी।

काठमाडौँ- विभिन्न १२ जना नागरिकले नक्कली भुटानी शरणार्थी प्रकरण संगठित अपराध भएकाले घटनामा संलग्न जोकोहीमाथि राष्ट्रदोहका अपराधमा कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले बिहीबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

उनीहरूले भनेका छन्, ‘देशको उपप्रधान मन्त्री, गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीका सल्लाहकारसम्म भइसकेका व्यक्तिकै योजना र सञ्जालमा आफ्नै देशका नागरिकलाई संगठित ढंगले ‘नक्कली शरणार्थी’ बनाएर विदेशमा बेच्ने जस्तो अमानवीय हर्कत अपराधको पराकाष्ठा हो।’

यस प्रकरणमा दायर गरिएको मुद्दा चानचुने ‘भ्रष्टाचार’ नभएर मानव तस्करीजस्तो जघन्य अपराध संगठित अपराध रहेको निष्कर्ष उनीहरूको छ। उनीहरूले भनेका छन्, ‘तसर्थ यो घटनामा संलग्न जोकोही माथि राष्ट्रद्रोहको अपराधमा बिना मोलाहिजा कानुनी कारबाही गरिनुपर्दछ।’

आरोपितले बयानका क्रममा उल्लेख गरेका राज्यको उपल्लो निकायमा रहेका कतिपय व्यक्तिलाई प्रहरीले आफ्नो अनुसन्धानको दायरामा नल्याएकोमा उनीहरूको आपत्ति छ। विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता संदिग्ध व्यक्तिहरू जस्तोसुकै ठूलो ओहोदा र जतिसुकै शक्तिशाली निकायको संरक्षण प्राप्त भए पनि निष्पक्ष रुपमा अनुसन्धानको दायरामा ल्याउन र दोषी देखिए कानुनी कारबाही गर्न आह्वान गर्दछौँ’

देश र जनताको मुहारमाथि कालो धब्बा लाग्ने गरी राज्यका मन्त्री, सचिवजस्ता जिम्मेवार व्यक्ति आफैँ संलग्न भई गराइएको मानव तस्करीको संगठित अपराध ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ बाट देशविदेशमा रहेका सबै नेपाली मर्माहत भएको उनीहरूको भनाइ छ।

उनीहरूले भनेका छन्, ‘यस प्रकरणको जालोमा वर्तमान सत्ताको पक्ष र विपक्षमा रहेका मूल नेतृत्व र तिनबाट संरक्षित व्यक्तिहरूसमेत जेलिएको र उनीहरुकै आडभरोसामा मानव तस्करी जस्तो अन्तर्राष्ट्रिय अपराध गराइएको सुन्दा हामी नागरिक अत्यन्तै चिन्तित, स्तब्ध र क्रोधित बनेका छौँ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्म पूर्वमन्त्री र बहालवाला सचिवसहित ३० जनाविरुद्ध पक्राउ गरी सरकारी वकीलमार्फत अदालतमा मुद्दा दायर गरेको छ। तीमध्ये १७ जना फरार छन्।

उनीहरूले भनेका छन्, ‘जनता र मुलुकभन्दा माथि कोही छैन। आपराधिक आरोप लागेका सबैले जिम्मेवारीबाट मुक्त हुनैपर्दछ।’ मुलुकमा आज देखिएको चरम निराशा र वितृष्णाको कारक एकपछि अर्को गर्दै दण्डहीनतालाई प्रश्रय दिँदै हिड्ने राजनीतिक नेतृत्व र राज्य सञ्चालक नै रहेको उनीहरूले बताइका छन्।

उनीहरूले भनेका छन्, ‘यी र यस्तै अरू अपराधमा नैतिक विश्वास गुमाएका राजनीतिक दलका मूल नेतृत्वलाई आआफ्ना पदबाट राजिनामा दिई प्रहरी अनुसन्धान र अदालती कार्वाहीलाई दबाब र प्रभावबाट मुक्त राख्न पनि हामी माग गर्दछौँ।’ विज्ञप्तिकर्ता नागरिकहरूमा बलराम केसी, युवराज घिमिरे, डा. केदारनरसिंह केसी, पुरुषोत्तम दाहाल, डा. चोपलाल भुसाल, मोहन ज्ञवाली, कुलचन्द्र वाग्ले, राजन कुइँकेल, सुदर्शन भण्डारी, गोकर्ण अर्याल, कृष्ण केसी, डा। अक्कलदेव मिश्रलगायत छन्।

प्रकाशित: ११ जेठ २०८० १५:५५ | Thursday, May 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast