खाण पक्राउपछि लामिछानेले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै भने, यो सिलसिला नरोकियोस्

हिमाल प्रेस २७ वैशाख २०८० १०:५१ | Wednesday, May 10, 2023
खाण पक्राउपछि लामिछानेले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै भने, यो सिलसिला नरोकियोस्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धन्यवाद दिएका छन्।

यसैगरी उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी देखिएका अन्य व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम नरोक्न आग्रह गरेका छन्।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू। यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’

शरणार्थी प्रकरणमा प्रहरीले बुधबार बिहान पूर्वमन्त्री खाणलाई उनकै निवासबाट पक्राउ गरेपछि पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछानेको यस्तो प्रतिक्रिया आएको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएको प्रकरणमा १२ जना पक्राउ परेका छन्।

लामिछानेले यसअघि शीर्ष नेताहरूको तीव्र भेटघाटले दोषी देखिएहरू उम्काउन खोजिएको भन्दै खबरदारी गरेका थिए। यस्तै उनले फरार (गराइएका) अझै सम्पर्क विहीन, नाम आएकाहरूमाथिको अनुसन्धान फितलो हुँदै गएको आरोप लगाएका थिए।

लामिछानेले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका थिए, ‘अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर ताण्डव’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।’

यस्तै उनले प्रधानमन्त्रीलाई यस्तो आँधीलाई ख्याल सम्झने भूल नगर्न पनि चेतावनी दिएका थिए। उनले भनेका थिए, ‘प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त? एउटा तोप पड्काउन यत्रो सकस!!

प्रकाशित: २७ वैशाख २०८० १०:५१ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast