 
                             
                                            खार्तुम- सुडानमा अमेरिका र साउदी अरबको मध्यस्थतामा भएको युद्धविराम घोषणाको दोस्रो दिन बुधबार झडपका घटना कम भएका छन्। तर युद्ध पूर्णरूपमा रोकिएको छैन। युद्धविरामको घोषणाले संकटमा परेका नागरिकमा राहत भएको छ। साथै युद्धबाट उम्कने बाटो चाँडै खुल्ने आशा यहाँका नागरिकमा जागेको छ।
सुडानको राजधानीमा छिटपुट गोलाबारी अझै भइरहेको आवाज आइरहेको छ। एक हप्ता लामो युद्धविरामको अवलोकन गरिरहेका दुई विदेशी शक्तिहरूले सोमबार अबेर युद्धविराम लागू भएदेखि खार्तुममा लडाईं ‘कम तीव्र’ देखिएको बताएका छन्।
युद्धरत पक्षहरूले युद्धविरामको पूर्वसन्ध्यामा सैन्य लाभ लिन खोजेकोमा ‘चिन्ता’ व्यक्त गरिएको छ। ‘दुवै पक्षले सम्झौताको उल्लंघन गरेको संकेत गर्ने’ रिपोर्टहरू आएका वासिङ्टन र रियादले उल्लेख गरेका छन्।
अप्रिल १५ मा युद्ध सुरु भएपछि हजारौँ विदेशीले सुडान छोडेका छन्। १० लाखभन्दा बढी सुडानीहरू आन्तरिक वा बाह्यरूपमा आफ्नो घर छोड्न बाध्य भएका छन्। सुडानका नेता सेना प्रमुख अब्देल फतह अल बुरहानले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोसँग प्रतिस्पर्धा गरिरहेका छन्।
अत्यधिक गर्मी, विद्युत् आपूर्ति बन्द, खाद्यान्न, औषधिलगायतका अत्यावश्यक वस्तुको चरम अभावबीच लाखौँ मानिस लडाकु र घुमन्ते लुटेराहरूबाट लुक्न घरभित्रै थुनिएका छन्।
सुडानका लागि संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञ राधुआने नुइसरले युद्धको भयावहको चित्रण गर्दै पूरै देशलाई बन्धक बनाइएको बताए। मानिसहरू एक्लो र परित्यक्त महसुस गरेका भेटिएका उनले बताएका छन्।
यद्यपि, उनीहरूले सुडानका जनतालाई ‘जीवन रक्षक सहायता प्रदान गर्ने’ तयारी भइरहेको बताएका छन्। पाँच हप्ताभन्दा बढीको लडाईंको सामना गरेको सुडानी नागरिकले युद्धबाट अतालिएको बताएका छन्। युद्धका कारण एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। युद्धमा हजारौँको संख्यामा घाइते भएका छन्। रासस/ एएफपी

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 