काठमाडौँ- महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकाय जिम्मेवार हुनुपर्ने बताएका छन्। बुधबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘सुशासन प्रवर्द्धनमा नागरिकको भुमिका’ विषयक कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकाय बराबर जिम्मेवार हुनुपर्ने बताएका हुन्।
राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तिहरू पनि भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने बताए। भ्रष्टाचार नियन्त्रणका लागि सर्वसाधारण एवं नागरिक समाजको भुमिका पनि उत्तिकै हुने उनको भनाइ थियो।
राज्यका निकायहरूबीचमा एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गरेको र त्यही कारण अनियमितता बढेको उनले औँल्याए। पछिल्लो समय गाउँगाउँसम्म भ्रष्टाचार विस्तार भएको दाबी गर्दै उनले नागरिकले स्थानीय तहका कामकारबाहीमा निगरानी राख्नुपर्ने बताए।



