भुटानी शरणार्थी प्रकरणमा ओलीले भने : पूरै फिल्म बाँकी नै छ

हिमाल प्रेस २८ वैशाख २०८० ११:५१ | Thursday, May 11, 2023
भुटानी शरणार्थी प्रकरणमा ओलीले भने : पूरै फिल्म बाँकी नै छ फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी बनाएर भएको ठगी प्रकरणबारे पूरै ‘फिल्म’ देख्न बाँकी रहेको बताएका छन्।

पार्टी केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन पार्टी मुख्यालय च्यासल पुगेका ओलीले सञ्चारकर्मीसँग भुटानी शरणार्थी प्रकरणमा निर्दोष फस्न नहुने र दोषी छुट्न नहुने बताए।

‘… त्यसमा मेरो भन्नु केही छैन। दोषी छुट्नु हुँदैन। निर्दोष पर्नु हुँदैन,’ ओलीले भने।

केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शरणार्थी प्रकरणको अनुसन्धान ‘ट्रेलर’ मात्र रहेको फिल्म बाँकी नै रहेको बताएका थिए।

ओलीले प्रचण्डकै बोलीलाई निरन्तरता दिँदै फिल्मको कुरा अघि बढाएका हुन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न रहेको भनेर उनीविरुद्ध पक्राउ पूर्जी जारी छ।

रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि ओली उनलाई जोगाउन लागेको भन्दै सार्वजनिक आलोचना हुँदै आएको थियो। यद्यपि बुधबार एमालेले रायमाझीलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको छ। रायमाझी भने अझै फरार छन्।

 

प्रकाशित: २८ वैशाख २०८० ११:५१ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast