 
                            
                                            चैतलाई उराठिलो महिना भनिन्छ। तर यही महिना न्याउली, कोइली, चखेवाको चिरबिरले भावविभोर पनि बनाउँछ। सहरको कोलाहलमा चराको समधुर स्वर सुन्न पाइँदैन। एकान्तको नीरवतालाई चिर्दै पन्छी बोल्छन्। डालीमा हेर्यो देखिँदैन तर पातको अन्तरमा छोपिएर चराले सुरिलो स्वरमा आलाप भर्छन्। त्यो आवाजलाई शब्दमा बयान गर्न सकिँदैन।
काठमाडौँ निवासी भाग्यमानी छन्। किनकि उपत्यकाका चारैतिर वनउपवन, भिरपाखा, हरियाली छ। वनस्पति, वनौषधि, वनप्राणीले ती भरिएका छन्। फुर्सद निकालेर साथीसंगीसँग घुम्ने हो भने प्रचुर आनन्द लिन सकिने प्रशस्त ठाउँ छन्। कतिपय ठाउँ हाम्रै नजिक छन्। तैपनि तिनको लाभ लिन वञ्चित भएर बसेका छौँ। त्यस्तै ठाउँमध्ये एक हो, शिवपुरी राष्ट्रिय निकुञ्जको जामाचोको सेरोफेरो।
यता सहरबाट हेर्दा जामाचो पर्वतमालाको दक्षिण पाखोको हरियाली सौन्दर्य देखिन्छ। तर यसको उत्तर पाखोको विराटताबाट हामी धेरै परिचित छैनौँ। यसका लागि जंगलभित्र नै प्रवेश गर्नुपर्छ। अनि त्यसको आनन्द उठाउनुपर्छ।
नागार्जुन भन्ने साधुले यो पर्वतको गुफामा बसेर तपस्या गरेको हुँदा नागार्जुन नाम रहेको भनिन्छ। त्यसैगरी भगवान् बुद्धले ध्यान गरेको हुँदा यसलाई पवित्र भूमि पनि मानिन्छ। यही विश्वासले होला जामाचोमा बुद्ध गुम्बा पनि छ। नागार्जुनलाई विन्ध्यापर्वत पनि भनिन्छ।
बौद्ध सम्प्रदायको परम्परागत मान्यताअनुसार काठमाडौँ उपत्यकाको उत्पत्ति आदि बुद्ध स्वयम्भूको अवतरण र मञ्जुश्री बोधिसत्वको आगमनसँग सम्बन्धित मानव बुद्धमध्ये नेपाल आउने प्रथम महात्मा विपश्वी बुद्ध थिए। उनी बन्धुमनीनगरका राजा बन्धुमान र रानी बन्धुमनी देवीका पुत्र थिए। जगतको कल्याण गर्न भनेर घुम्दै गर्दा एक समय यहाँको नागदहमा आइपुगे। उनी नागदहको उत्तर–पश्चिम कुनातिरको पर्वतमा बसे। केही दिनपछि उनले नागदहमा चैत पूर्णिमाको दिन कमलको फूल बीजारोपण गरेका थिए।

सोही बीजबाट कालान्तरमा कमलको फूल फुलेर त्यसबाट स्वर्गलोकका अधिपति ज्योतिरूपश्री स्वयम्भू अवतरित भए। उनले आफू बसेको पर्वतको नाम जगत्मा त्रोच्च (जामाचो) राखिदिए। सो पर्वत पछि गएर नागार्जुन नामले प्रसिद्ध भयो (प्रा.अ. कल्पना श्रेष्ठ, काठमाडौँ उपत्यकाको सांस्कृतिक परम्परा, पृष्ठ ९४)।
बालाजुबाट नुवाकोटतर्फ जाने बाटोको केही माथि गएपछि सैनिक चेकपोस्ट भेटिन्छ। त्यहाँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको आरक्षण क्षेत्र प्रवेशका लागि लाग्ने शुल्क प्रतिव्यक्ति सय रुपैयाँ तिरेपछि बल्ल मुड्खु भन्ज्याङबाट जंगल छिर्न पाइन्छ। निकुञ्ज प्रवेश गर्नुअघि सैनिकले झोला चेक गर्छन्। निकुञ्ज प्रवेश गर्दा सलाई, लाइटरजस्ता ज्वलनशील पदार्थ साथमा लिएर जान नदिने रहेछ। साथै जंगलभित्र ठूलो स्वरले कराउन नपाउने र गीतसंगीत बजाउन नपाइने रहेछ। उक्त व्यहोरा प्रवेश गर्नुपूर्व सचेत गराइने रहेछ। सबै प्रक्रिया पूरा गरेर हामी निकुञ्ज प्रवेश गर्यौँ।

हामीसँग उमेरले सबैभन्दा कान्छी साम्राज्ञी पनि थिइन् सहयात्री। पैदलयात्राको अनुभवका लागि आएकी थिइन्। स्कुलमा पढ्दै गरेकी सानी नानी जिज्ञासु पनि थिइन्। यो उनको असल गुण हो। जिज्ञासाले मानिसलाई तत्त्व ज्ञानको नजिक पुर्याउँछ।
बाटोमा हिँड्दै गर्दा एउटा ठूलो जरैसँग लडेको रूख देखियो। साम्राज्ञीले जिज्ञासा राखिन्, ‘अंकल यो रूख किन लडेको, कसले लडाएको?’ प्रश्नजति सरल थियो, त्यसको उत्तर त्यति नै जटिल। यति विशाल रूख सानोतिनो हावाको झोक्काले त लडाएको थिएन। कसैले आह्राले काटेर ढालेको पनि होइन। फेरि किन यो रूख ढल्यो। बूढो भएर, कमजोेर भएर? त्यो पनि होइन। मैले भनेँ, ‘साम्राज्ञी, यो रूख धेरै बलियो प्रजातिको हो। यसले ठूलाठूला आँधीबेहरी, झरी, बर्खा, प्राकृतिक प्रकोप सहन सक्छ। यी सबै सहेर यो रूख सयौँ वर्ष बाँचेको हो। आज ढलेछ। यो कमजोर भएर ढलेको होइन। हेर त, यसको जरामा धमिरा लागेछन्, किराले खाएछन्। जब विशालकाय जीवको पनि जरा मक्किन्छन्, आन्तरिक कोषमा किराले हमला गर्छन्, यसको टेक्ने धरातल कमजोर हुन्छ र यसरी लड्छ, डङ्रङ।’
निकुञ्ज संरक्षणका हिसाबले जामाचोलाई पूरै परिक्रमा गरेर कच्ची मोटर बाटो बनाइएको छ। यस्तो बाटोलाई फायरलेन पनि भनिन्छ। जंगलमा आगो लाग्यो भने निभाउन जान सजिलो होस् भनेर निर्माण गरिएको। यहीँबाट हुँदै नेपाली सेनाले गस्ती पनि गर्ने रहेछ। हामी यही बाटो हुँदै हिँड्यौँ। यहाँ प्रकृतिको आनन्द उठाउन मौनता उत्तम उपाय रहेछ। बाटोभरि पत्कर छन्। रूखका पात छिचोलेर भुइँमा देखिने सूर्यका किरण अलौकिक देखिन्छन्। हिँड्दा यसबाट आउने सर्याकसुरुक आवाजले पनि वातावारणलाई प्रभाव पार्ने रहेछ। यो पदमार्गमा हिँड्दा आनन्द आउने रहेछ।

हामी पहिला त समूहमा हिँड्दै थियौँ। समूहमा हिँडेपछि केही न केही कुरा हुने नै भयो। एकान्तमा एकाग्र भावले प्रकृतिसँग बात मार्न पाउँदाको अनुभूतिबाट वञ्चित भइने देखेर हामी सानो–सानो समूहमा अघि र पछि भएर हिँड्यौँ। पन्छीको गुञ्जनमात्र कहाँ हो र! लहरा, नीरवता, हरियाली, रंगीबिरंगी वनस्पतिका जाति–प्रजाति हेर्दै, सुन्दै हिँड्यौँ। आँखाले मात्र कहाँ हो र! मनले र मन भित्र प्रभाहित हुने विचारको तरंगित आरोह–अवरोहको शुद्धताले समेत सौन्दर्यपान गर्दै हिँड्यौँ।
हामी करिब ८/९ किलोमिटर हिँडेपछि जामाचोको पश्चिम खण्ड ऐन डाँडा पुग्यौँ। यहाँबाट शिवपुरी नागार्जुन पर्वतमाला सकिन्छ। यहाँ नेपाली सेनाको ब्यारेक पनि छ। हाम्रो संख्या गन्ती गरेरमात्र यहाँबाट छोडियो। ऐन डाँडाको उचाइ १८३६ मिटर छ। आजको हिँडाइमा योभन्दा माथिको पहाड चढ्नु परेन। मुड्खुबाट सुरु भएको फायरलेनको बाटो जामाचो डाँडोलाई पूरै फन्को लगाएको छ। इच्छा हुनेले साइकलबाट घुमेर पनि यसको आनन्द लिन सक्छन्।
ऐन डाँडाबाट बालाजुतर्फ नलागेर हामी धादिङतर्फ लाग्यो। आकाशमा बादलको घेरा बढ्दै थियो। बतासले रूखहरूलाई हल्लाउँदै थियो। सल्लाघारी सुसाउँदै थियो। सल्लाघारी सुसाएको आनन्द पनि लिने अवसर मिल्यो।
बिहान ८ बजे सुरु गरेको पदयात्रा अपराह्न साढ ३ बजे भीमढुंगामा पुगेर सकियो।

 
    
   
  
  
 


 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 