 
                             
                                            काठमाडौँ- नेताहरूले शान्ति, सद्भाव र अहअस्तित्वका लागि बुद्धका उपदेश अनुकरणीय रहेको बताएका छन्। २५६७ औँ बुद्धजयन्तीको शुभकामना दिँदै उनीहरूले गौतम बुद्धले नेपालमा जन्मिएर विश्वभर शान्तिको सन्देश फैलाउन खेलेको भूमिका युगौँसम्म प्रेरणादायी रहने विश्वास गरेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनेकौँ प्रकारका हिंसाको प्रयोगबाट आक्रान्त समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको बताएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्, ‘नेपाल प्राचीन बौद्ध सभ्यताको उद्गम स्थल भएको हुनाले बौद्ध धर्म र दर्शनसम्बन्धी अध्ययन एवं अनुसन्धानको संस्थागत विकास गर्न, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक स्थलहरूको संरक्षण, विकास र प्रवर्धन गर्नका लागि आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मलाई लाग्दछ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताए। उनले दिएको शुभकामना सन्देशमा मानव जातिको सर्वांगीण हित र शान्तिका लागि बुद्धले गरेको त्याग, लिएको विचार र अभ्यास नेपालीका लागि विशेष ऐतिहासिक गौरवको विषय भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसंग आज पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।’
प्रधानमन्त्री दाहालले बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्त्वपूर्ण सबै बौद्ध क्षेत्रहरूको प्रवद्र्धन र विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए।
नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने बताएका छन्।
उनले दिएको शुभकामना सन्देशमा उल्लेख छ, ‘दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![झकिझकाउ मायादेवी मन्दिर [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2023/05/lumbinee7.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 