बालकृष्ण खाणलाई तत्काल पार्टीले कुनै कारबाही नगर्ने

हिमाल प्रेस २८ वैशाख २०८० १९:४८ | Thursday, May 11, 2023
बालकृष्ण खाणलाई तत्काल पार्टीले कुनै कारबाही नगर्ने जीवन परियार

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणमाथि पार्टीले तत्काल कुनै कारबाही नगर्ने भएको छ। सभापति देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले अनुसन्धानको अन्तिम निष्कर्षका लागि कुर्नुपर्ने बारे छलफल भएको बताए।

‘उहाँले अनुसन्धानमा सहयोग गरिरहनु भएको छ। पार्टीमा पनि अदालतको निर्णय कुर्नुपर्ने विषयमा छलफल भयो,’ उनले भने।

परियारले खाणको बचाउ गर्दै थपे, ‘उहाँ यहीबीचमा बुटवल जानु भएको थियो। चाहेको भए भाग्न सक्नुहुन्थ्यो होला नि। पार्टी पनि दोषी ठहर भएको अवस्थामा बचाउनुपर्छ भनेर भन्ने पक्षमा छैन।’

पार्टीभित्र पनि तत्काल खाणलाई कारबाही गरिहाल्नुपर्छ भन्नेमा कोही नरहेको उनले बताए। बुधबारको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गरी अनुसन्धानमा सहयोग गर्नुपर्ने भनाइ राखेको बताइएको थियो। तर आज परियारले उक्त भनाइको खण्डन गरे।

नक्कली शरणार्थी प्रकरणमा खाण बुधबार बिहान आफ्नै निवास मैजुबहाल काठमाडौँबाट पक्राउ परेका हुन्। उनीविरुद्ध अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

परियारले जोसुकै व्यक्ति परे पनि यो घटनाबाट नेपाल नै लज्जित हुनुपर्ने अवस्था आएको बताए।

‘यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ। हामी नेता (बालकृष्ण खाँण) लाई लुकाउन सक्थ्यौँ होला। उहाँ बुटवल जानु भएको थियो, त्यहीँबाट हराउन पनि सक्नु हुन्थ्यो,’उनले भने, ‘हाम्रो पार्टीको नेता जोडिएपछि हामी सत्तामा भए पनि अनुसन्धान प्रभावित गर्ने पक्षमा छैनौँ। व्यक्तिको कुरै छैन, जोसुकै व्यक्तिलाई अनुसन्धानले चाह्यो भने कारबाही गर्नुपर्छ।’

प्रकाशित: २८ वैशाख २०८० १९:४८ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast