प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त/रासस
काठमाडौँ- प्रतनिधिसभामा बिहीबार भएको सवाल जवाफमा सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंगापुर र स्वीजरल्याण्ड कस्ता थिए? भनेर प्रश्न गरेका छन्। ‘प्रधानमन्त्रीजीले नेपाललाई सिंगापुर र स्वीजरल्याण्डजस्तै बनाउछु भन्नु हुन्थ्यो ती दुवै देश कस्ता थिए?’ सुवालले भने, ‘अहिले नेपाललाई नक्कली भुटानी शरणार्थी बनाउने देश किन बनाउनु भयो?’
नक्कली भुटानी शरणार्थी बनाउने नाममा राज्यविरुद्धको कसुर, संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार, सरकारी कागजात, छाप तथा दस्तखत किर्ते, सार्वजनिक सम्पत्ति दुरुपयोग, सरकारी गाडीमा भ्रष्टाचार, करोडौँ रुपैयाँ ओसारपसार ठगी मचाएका आरोपीहरूलाई हुने कारबाहीका विषयमा पनि सांसद सुवालले जिज्ञासा राखे।
भुटानी शरणार्थी प्रकरणमा यसअघि प्रधानमन्त्री भएका सबै व्यक्ति जिम्मेवार हुनुपर्ने सांसद सुवालले बताए। भुटानी शरणार्थी प्रकरण लुकाउने प्रपञ्च भइरहेको विषयमा प्रश्न उठाउँदै सांसद सुवालले खोप विश्वाविद्यालयबारे पनि जिज्ञासा राखे।
त्यसपछि जवाफ दिएका प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थीको विषयमा मात्रै जवाफ दिए। ‘भुटानी शरणार्थीको विषयमा मैले यसअघि नै प्रष्ट पारेको छु,’ उनले भने, ‘सरकार दृढ छ। कसैप्रति पनि कुनै पूर्वाग्रह र आग्रह राखिने छैन। कुनै पनि अपराधिलाई छुट दिइने छैन।’
नक्कली भुटानी शरणार्थी प्रकरण कुनै पार्टी विशेषको, सरकार विशेषको वा नेता विशेषको मात्रै नरहेको प्रधानमन्त्री प्रचण्डले बताए। नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय पनि भएकाले यसमा संलग्नलाई कारबाहीबाठ जोगाउन नसकिने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
दोषीलाई नछोड्ने गरी सरकार दृढताका साथ सरकार लागेको र अन्तर्राष्ट्रियस्तरबाट विभिन्न संघसंस्थाहरूले पनि हेरिराखेकाले निर्दोषलाई नमुछ्ने नीतिअन्तर्गत यसलाई एउटा निष्कर्षमा पु¥याइने उनले बताए।
गुणस्तरिय शिक्षालाई ध्यानमा राख्दै खोप विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयका सम्बन्धमा पनि माग र आवश्यकताका आधारमा कानुन बनाउँदै सञ्चालनमा लैजाने पनि प्रचण्डले जवाफ दिए। ‘मेरो रुची छ खोप विश्वविद्यालयमा। म आफैले पनि त्यसको अध्ययन अनुगमन गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसलाई अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु।’




