प्रतिकूल स्वास्थ्य अवस्थाका कारण संसद् बैठकमा उपस्थित हुन सकिनँ : ओली

हिमाल प्रेस ४ जेठ २०८० १९:०१ | Thursday, May 18, 2023
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण संसद् बैठकमा उपस्थित हुन सकिनँ : ओली एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ– प्रमुख प्रतिपक्षदी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आफू बिहीबारको संसद् बैठकमा उपस्थित हुन नसकेको जनाएका छन्। अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।

ओलीले बिहीबारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको थियो। ओलीले भनेका छन्, ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ। नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद् समक्ष राख्ने मैले यसअघि बताएको थिएँ।’

ओलीले स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्‌मा बोल्ने प्रतिबद्धता जनाएका छन्। यसैगरी उनले संसद्‌मा प्रधानमन्त्री र सांसद्हरूबीच जनताका जल्दाबल्दा विषयमा सवालजवाफको नयाँ प्रचलन सुरु भएकोमा शुभकामना दिएका छन्।

उनले भनेका छन्, ‘प्रश्नहरू दुई किसिमका हुन्छन्। एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ। देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनु पर्छ।’

ओलीले सांसद्हरुले संसद्मा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस् भन्ने कामना पनि गरेका छन्।

उनले भनेका छन्, ‘त्यसले हरेक नागरिकले संसद्मा आफैँ भएको महसुस गर्न पाउनेछ। प्रश्नहरू औपचारिकता मात्रै नहोऊन् र उत्तरहरू ओठे प्रतिबद्धता मात्रै नहोउन्। शुभकामना छ।’

प्रकाशित: ४ जेठ २०८० १९:०१ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast