पोखरामा हुने भनिएको मुख्यमन्त्रीहरूको भेला स्थगित

हिमाल प्रेस ९ जेठ २०८० १६:४२ | Tuesday, May 23, 2023
पोखरामा हुने भनिएको मुख्यमन्त्रीहरूको भेला स्थगित

पोखरा- पोखरामा बिहीबार हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला स्थगित भएको छ। गण्डकी प्रदेश सरकारले सो भेलाको तयारी गरिरहँदा अन्तिम समयमा आएर सूचना जारी गर्दै स्थगित भएको जनाएको हो। जसका कारण पोखरा आउँदै गरेका कतिपय मुख्यमन्त्रीहरू बिच बाटोबाटै फर्किन बाध्य भएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण भेला स्थगित गर्नुपरेको औपचारिक जानकारी दिएका हुन्। प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने भनिएको सो भेलाको तयारीका लागि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो। पोखराको बिरौटास्थित पाँचतारे पोखरा ग्राण्डमा भेला हुने तयारी थियो।

प्रधानमन्त्रीको उपस्थितिमा सातै प्रदेशका मुख्यमन्त्रीहरू संघ सरकारबाट अधिकार माग्न पोखरामा भेला हुन लागेका थिए। संघीयतालाई स्थायित्व दिन र संघीय संरचनामाथि प्रश्न गर्नेहरूलाई व्यवहारबाट जवाफ दिन मुख्यमन्त्रीहरूले पोखराबाट साझा धारणा सार्वजनिक गर्ने कार्यक्रम थियो।

सो भेलामा सम्बन्धित प्रदेशका प्रमुख सचिवहरू पनि उपस्थिति हुने कार्यक्रम थियो। यसअघि पोखरामै पृथ्वीसुव्वा गुरुङको पालामा मुख्यमन्त्रीहरूको भेला भएको थियो।

प्रकाशित: ९ जेठ २०८० १६:४२ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast