पाँच सैनिकसहित १० जनाले गरे सगरमाथाको सफल आरोहण

हिमाल प्रेस १ जेठ २०८० १५:३१ | Monday, May 15, 2023
पाँच सैनिकसहित १० जनाले गरे सगरमाथाको सफल आरोहण

काठमाडौँ- नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।

टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दीपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगु आज (सोमबार) बिहान १० बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ।

उनीहरूसँगै अभियानमा सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँच जना शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन्। यसअघि गत वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन्।

गत चैत १४ गते जंगीअड्डामा आयोजित ‘फल्याग अफ सेरेमोनी’मा प्रधानसेनापति प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी सफा हिमाल अभियान सुरु गरिएको थियो।

उक्त अभियानबाट करिब ३५ हजार किलो फोहर संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म ३२ हजार ३११ किलो फोहर संकलन भइसकेको छ। यो अभियान विश्व वातावरण दिवसमा समापन हुने निर्देशनालयले जनाएको छ।

प्रकाशित: १ जेठ २०८० १५:३१ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast