 अभ्यासमा लियाेनल मेस्सी। तस्बिर: पीएसजी
                            अभ्यासमा लियाेनल मेस्सी। तस्बिर: पीएसजी
                                            काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निलम्बन फुकुवा गरेपछि लियोनल मेस्सी अभ्यासमा फर्किएका छन्। पीएसजीले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमा मेस्सीले अभ्यास गरिरहेको तस्बिर हालेको छ।
यद्यपि फ्रान्सेली क्लबले मेस्सीको निलम्बन फुकुवाबारे औपचारिक रुपमा केही प्रतिक्रिया दिएको छैन। अमेरिकी समाचार एजेन्सी एपीले भने स्रोतलाई उदृत गर्दै मेस्सीको निलम्बन फुकुवा भएको र उनी सोमबारबाट अभ्यासमा फर्किएको लेखेको छ।
विश्वकप विजेता अर्जेन्टिनाका कप्तान मेस्सी शनिबार मैदान फर्कनेछन्। त्यसदिन पीएसजीले फ्रान्सेली लिग वानमा अजासियोको सामना गर्ने तालिका छ। लिग वानमा चार खेल खेल्न बाँकी रहँदा पीएसजी शीर्षस्थानमा छ। पीएसजी हाल दोस्रो स्थानको लन्सभन्दा ६ अंकले अगाडि छ।
टिमको अभ्यास छाडेर मेस्सी सोमबार साउदी अरब गएका थिए। जहाँ उनी साउदी सरकारको पर्यटन सम्बन्धी कार्यक्रममा सहभागी भए। साउदी पुगेको भोलिपल्टै मेस्सी पीएसजीको निलम्बनमा परेका थिए।
पीएसजीले निलम्बन अवधिबारे केही जानकारी नदिए पनि फ्रान्सेली सञ्चारमाध्यमका अनुसार मेस्सीलाई दुई साताका लागि निलम्बन गरिएको थियो। क्लबको अनुमतिबिना साउदी गएकोमा मेस्सीले पीएसजी प्रशासन र टिमका साथीहरूसँग माफी मागेका थिए।
अगस्ट, २०२१ मा फ्रान्सेली राजधानी पुगेका मेस्सीले यो सिजन सकिएपछि पीएसजी छाड्ने बताइएको छ। अर्को एक सिजन सम्झौता थप गर्ने विकल्प भए पनि पीएसजीले मेस्सीलाई हालसम्म नयाँ सम्झौताको प्रस्ताव गरेको छैन।
कतारी स्वामित्वको पीएसजीले मेस्सीको सहयोगमा च्याम्पियन्स लिगमा दाबेदारी प्रस्तुत गर्ने विश्वास गरिएको थियो। तर पीएसजी अन्तिम १६ बाटै बाहिरिन पुग्यो। मेस्सीले विश्वकपपछि तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरिरहेका छन्। यद्यपि उनले यो सिजन लिगमा १५ गोल गरेका छन् भने त्यति नै गोलका लागि पास उपलब्ध गराएका छन्।
अर्को सिजन मेस्सी कुन क्लबमा होलान् भन्ने कौतहुल फुटबल समर्थकमा छ। युरोपेली सञ्चारमाध्यमका अनुसार उनी बार्सिलोना फर्कने सम्भावना छ। उसो त उनलाई साउदी र अमेरिकाका क्लबहरूले पनि स्थान्तरणको प्रस्ताव राखेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 