 
                             
                                            काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टुकुचा ढल नभई खोला नै भएको पुनःप्रमाणित भएको बताएका छन्। आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले उच्च अदालत पाटनले गरेको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम राख्ने विकल्पलाई स्पष्टरूपमा मान्यता दिएको बताएका हुन्।
‘नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रको घोषणा गरेको छ। सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदीको प्राकृतिक अधिकार पुनःस्थापना तथा संरक्षणको लागि काठमाडौँ महानगरपालिकालगायत संघीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको छ,’ उनले लेखेका छन्।
यस्तै उनले कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा सो माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड रहेको पनि बताए। ‘तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकारभित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुनबमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ,’ उनले भनेका छन्, ‘यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ।’
काठमाडौँ महानगरले गत वर्ष टुकुचा उत्खनन अभियान चलाएको थियो। तर अभियानविरुद्ध टुकुचामाथि संरचना बनाएकाहरूले रिट हालेपछि उच्च अदालत पाटनले अभियान रोक्न अन्तरिम आदेश दिएको थियो।
२०७९ माघ १८ गते रिट जारी हुने फैसला सुनाएको थियो। सोही फैसलाको पूर्णपाठ वैशाख १३ गते सार्वजनिक भएको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 