 
                             
                                            झापा– मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक अनावरण गरिएको छ। बीपी-पुष्पलाल वाटिका तथा सहिद स्मृति प्रतिष्ठानले निर्माण गरिएको सालिकको आइतबार साँझ अनावरण गरिएको हो।
प्रथम निर्वाचित प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको पूर्णकदको सालिक एकै ठाउँमा स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष राम तामाङले बताए। सालिक अनावरण गर्दै मेचीनगर नगरपालिकाका मेयर गोपाल बुढाथोकीले नेपालको इतिहास बोकेका दुई भिन्न विचारका नेताहरूको यो सालिकले विशेष महत्त्व राख्ने उल्लेख गरे।
कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्य, कोशी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीलगायतले बीपी-पुष्पलाल वाटिका र सहिद उद्यानको छुट्टै महत्त्व रहेको बताए। ०४८ सालदेखि शीर्ष व्यक्तित्वको नाममा वाटिका स्थापना गरिएको थियो। हरेक वर्ष बीपी-पुष्पलाल वाटिकामा कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताहरूले उनीहरूको स्मृतिमा वृक्षरोपण गर्दै आएका छन्।
वडा नम्बर ६ को कार्यालयनजिकै रहेको १२ कठ्ठा जग्गामा फैलिएको सालिक तथा पार्क निर्माणका लागि पर्यटन कार्यालय काँकडभिट्टाले ४ लाख ६० हजार, मेचीनगर-६ वडा कार्यालयले ५० हजार, मेचीनगर नगरपालिकाले १ लाख ८० हजार, कोशी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ३५ लाख ८६ हजार र अध्यक्ष तामाङले २ लाख ५८ हजार खर्च भइसकेको छ।
उद्यानमा मुख्य बाटोको दुवैतर्फ फूल रोप्ने, ड्रेन निर्माण, बाटोमा टायल्स र मार्बल लगाउने, मेरो काँकडभिट्टा लेखन, बेञ्च निर्माण, सिँढी निर्माण, म्युजिक सिस्टम जडानले पर्यटन सम्भावना बढाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 