जाजरकोटको दहमा जडीबुटी संकलन केन्द्र

हिमाल प्रेस ७ जेठ २०८० ८:४४ | Sunday, May 21, 2023
जाजरकोटको दहमा जडीबुटी संकलन केन्द्र

जाजरकोट- जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा संकलन केन्द्र निर्माण गरिएको छ। सडकको पहुँच रहेको दहमा संकलन केन्द्रको भवन निर्माणले यहाँको जडीबुटीलाई सहजरूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए।

स्थानीय पूर्वाधार कार्यक्रमको साझेदारीमा गाउँपालिकाले उक्त संकलन केन्द्रको भवन निर्माण गरेको उनले जानकारी दिए। ४१ रुपैयाँ लाखमा निर्माण भएको उक्त भवनमा बारेकोटको पाटनबाट संकलन गरी ल्याइएको जडीबुटी व्यवस्थापन गरिने छ।

जाजरकोटबाट जुम्ला जाने बाटोको बीचमा रहेको र सडकको पहुँचमा रहेका कारण जडीबुटी भण्डार गरी निर्यात गर्न सजिलो हुने अपेक्षा गाउँपालिकाले लिएको छ। जडीबुटी सबैभन्दा बढी पाइने पाटन बारेकोट–४ मा रहेका सामुदायिक वनमा रहेको वडाध्यक्ष विष्णु रावतले बताए।

तोकिएको समयभन्दा अगाडि निर्माण गरिएको उक्त भवनले बाहिरबाट आउने संकलनकर्तालाई सहजता ल्याउने भएको छ। भवन नहुँदा स्थानीयवासीका घरमा जडीबुटी राख्दा चोरी हुने, मुसाले हानि पुर्‍याउनेदेखि कुहिने डरबाट मुक्त भएको उनले बताए।
२५ प्रकारका जडीबुटी बारेकोटमा पाउने गरेको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख राधाकृष्ण दासले बताए। जडीबुटी उत्पादन र संकलनका दृष्टिकोणले बारेकोट–४ सबैभन्दा बढी उर्वरभूमि रहेको जनाइएको छ।

अघिल्लो आर्थिक वर्षमा जडीबुटी संकलनकर्ताबाट राजस्वस्वरुप ३३ लाख ७२ हजार एक सय २५ रुपैयाँ संकलन भएको डिभिजन वन कार्यालयले जनाएको छ।

वन व्यवस्थापनका विभिन्न पद्धतिमध्ये यस जिल्लामा मुख्य गरी सामुदायिक वन, सरकारीद्वारा व्यवस्थित वन, कबुलियती वन तथा निजी वन व्यवस्थापन पद्धतिद्वारा वनको संरक्षण, सम्वद्र्धन तथा सदुपयोग हुँदै आइरहेको छ।

जिल्लाको कुल वन क्षेत्रको ३८।४२ प्रतिशत वन क्षेत्र सामुदायिक वनका रूपमा उपभोक्ता समूह गठन गरी वन व्यवस्थापन हुँदै आइरहेको छ। -रासस

प्रकाशित: ७ जेठ २०८० ८:४४ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast