जनताको सम्मान गरी राष्ट्रलाई समुन्‍नत बनाउने उत्कृष्ट व्यवस्था नै गणतन्त्र : उपराष्ट्रपति यादव

हिमाल प्रेस १५ जेठ २०८० ७:४८ | Monday, May 29, 2023
जनताको सम्मान गरी राष्ट्रलाई समुन्‍नत बनाउने उत्कृष्ट व्यवस्था नै गणतन्त्र : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय यादवले गणतन्त्रलाई सु-संस्कृत बनाउने जिम्मेवारी हामी सबैको काँधमा भएको बताएका छन्। १६ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।

नेपालको संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता र कानुनी राज्यलाई अंगीकार गरेको उनको भनाइ छ। यसैका आधारमा नेपालको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, शासन र प्रशासनमा सिंगो मुलुकभित्रको बहुरूप र विविधता झल्किने प्रारूप एउटा साझा चौतारी र फूलबारी झैं देख्न सकिरहेको सन्देशमा उल्लेख छ।

यसलाई थप परिष्कृत, सु-संस्कृत, मर्यादित, रूपान्तरित र व्यवस्थित गर्नुपर्ने कर्तव्य, दायित्व र जिम्मेवारी हामी सबैको काँधमा आइपरेको उनले स्मरण गराए। ‘विविधतामा एकता हाम्रो मौलिक राष्ट्रिय पहिचान हो। गणतन्त्र दिवसलाई सबैले देशको संविधानको सुरक्षासँगै गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, समानता, समाजवाद तथा मुलुकको समरसता एवं शान्ति र विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्दछ,’ सन्देशमा उल्लेख छ।

कमीकमजोरीहरूलाई सच्याउँदै प्रगति पथमा निरन्तर लम्कन र अग्रगमन उन्मुख हुनु निर्विकल्प रहेको बताउँदै उनले लोकतान्त्रिक गणतन्त्र भनेकै जनताको सामूहिक भावनाको सम्मान र कदर गरी राष्ट्रलाई समुन्नतिको मार्गमा अघि बढाउने उत्कृष्ट व्यवस्था भएको जनाएका छन्।

‘यो व्यवस्थाप्रति जनताको विश्वास जगाउन हामीले असल काम, सुशासन, रोजगारीका अवसर र मुलुकलाई समुन्नत बनाउने मार्गचित्रका साथ अघि बढ्नै पर्दछ,’ सन्देशमा भनिएको छ।

गणतन्त्र दिवसले सामाजिक न्याय र सामाजिक रूपान्तरणमा तुलनात्मक रूपमा कमजोर देखिएका र पछि परेकाहरूलाई माथि उकास्ने प्रतिबद्धताका साथ मुलुकको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई थप सुदृढ गर्दै समृद्धिको मार्गमा अग्रसर हुन सबैलाई उत्प्रेरित गर्ने उनले अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित: १५ जेठ २०८० ७:४८ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast