चिनियाँ जनमुक्ति सेनाद्वारा वीरेन्द्र अस्पताललाई एमआरआई मेशिन प्रदान

हिमाल प्रेस ३ जेठ २०८० २०:५७ | Wednesday, May 17, 2023
चिनियाँ जनमुक्ति सेनाद्वारा वीरेन्द्र अस्पताललाई एमआरआई मेशिन प्रदान

काठमाडौँ– चिनियाँ जनमुक्ति सेनाले छाउनीस्थित वीरेन्द्र अस्पताललाई एमआरआई मेशिन प्रदान गरेको छ। बुधबार आयोजित विशेष समारोहबीच नेपालका लागि चीनका राजदूत चेन सङ र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले उक्त मेशिनजडित कक्षको संयुक्त रूपमा उद्‍घाटन गरेका छन्।

चीन सरकारबाट नेपाली सेनालाई सहयोगस्वरूप प्राप्त मेशिन औपचारिक रूपमा हस्तान्तरणका लागि आयोजित सो समारोहलाई सम्बोधन गर्दै सेनापति शर्माले नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रमा चीन सरकार तथा चिनियाँ जनमुक्ति सेनाले गरेको योगदानको प्रशंसा गरे।

नेपाल-चीन सम्बन्ध घनिष्ठ रहेको बताउँलै उनले ०७२ सालको भुकम्पपश्चातको उद्धार तथा पुनर्निर्माणमा र कोभिड-१९ महामारीविरुद्ध चीन सरकारले नेपाललाई गरेको सहयोगप्रति चीन सरकारप्रति आभार व्यक्त गरे।

कार्यक्रममा बोल्दै राजदूत सङले यस मेशिनको मद्दतले नेपाली सेनामा प्रविधिमा आधारित स्वास्थ्य उपचार सुविधाको विस्तारमा ठूलो उपलब्धि हासिल भएको बताए। नेपाल चीनको असल छिमेकी रहेकाले नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रको सुधारमा सहयोग गर्न पाएकोमा उनले खुसी व्यक्त गरे।

कार्यक्रममा बलाधिकृत रथी, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूलगायत चिनियाँ राजदूतावासका पदाधिकारी एवम् चिनियाँ सैनिक सहचारी उपस्थित थिए।

प्रकाशित: ३ जेठ २०८० २०:५७ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast