उदयपुर- उदयपुरमा खडेरीले मकैका बिरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन्। ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएकाले जिल्लाको पहाडी क्षेत्रमा मकैका बिरुवा मर्न थालेपछि किसान चिन्तित बनेका हुन्।
चैतको अन्तिमयता एकपटक पनि वर्षा नभएपछि पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लीछा, बराह, जाँते बासबोटेमा मकै सुक्न थालेका हुन्। त्यस्तै रौतामाई गाउँपालिकाको भुटार, इनामे, नामेटार, रामेटार आपटार क्षेत्रमा पनि मकैका बिरुवा सुक्न थालेका छन्।
रौतामाई गाउँपालिका–४ पाँबुका कृषक वीन्द्रबहादुर मगरका अनुसार राम्ररी हुर्कँदै गरेको मकैका बिरुवा खडेरीका कारण ओइलाउन थालेका र पात सुक्न थालेका छन्।
चैत अन्तिम हप्तादेखि खडेरी लागेको र अहिलेसम्म एकझर वर्षा हुन नसकेका कारण खेतबारीमा लगाएको सबै मकैका बिरुवा ओइलाएर मर्न थालेको रौतामाई आपटारका कृषक वीरबहादुर कटुवालले बताए।
जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिका–३ दनुवारबेँसीका कृषक धनबहादुर दनुवारले राम्ररी मकैको बिरुवा हुर्कन लागेका बेला कडा खडेरी सुरु भएकाले बिरुवा मर्न थालेपछि आफूहरूलाई चिन्ता भएको बताए।
पिपलभन्ज्याङका कृषक राजबहादुर राईले वैशाखको सुरुमा खडेरी सुरु भए पनि मकैको बिरुवा नै मर्ने अपेक्षा नभएको दुखेसो पोखे। तर खडेरी बढ्दै गएको र वर्षा नभएपछि मकैको बिरुवा मर्न थालेका उनले बताए। यसपटक मकैखेती नसप्रेको भन्दै उनले चिन्ता व्यक्त गरे।
खडेरीका कारण जिल्लाको तराई क्षेत्रमा पनि मकैको बिरुवा सुक्न थालेका छन्। पहाडी क्षेत्रको मुख्य अन्नबालीका रूपमा रहेको मकै बाली खडेरीका कारण नष्ट भए भोकमरीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै कृषक चिन्तित बनेका छन्। रासस

                                             
                                             
                                             
                                             
                                             
                                             

