 
                            
                                            प्राध्यापक हिरेन्द्रमान प्रधान विगत ४२ वर्षदेखि इन्जिनियरिङ शिक्षा क्षेत्रमा अनवरत सक्रिय छन्। एकै पटक ६ कक्षामा भर्ना भएर औपचारिक अध्ययन थालेका प्रधानले दरबार हाइस्कुलबाट एसएलसी र अमृत साइन्स क्याम्पसबाट आईएस्सी पास गरेपछि प्लानमा भारतको आईआईटीमा पढ्ने अवसर पाए। त्यहाँबाट सिभिल इन्जिनियर बनेका उनलाई अमेरिकाबाट एमई गर्ने अवसर जुर्यो। आफूलाई इन्जिनियरभन्दा पनि मास्टर भन्न रुचाउने प्रधानले नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेस एकीकरण गराउन विशेष भूमिका खेलेका थिए। राष्ट्रिय योजना आयोगका सदस्य भएर काम गरिसकेका प्रधान काठमाडौँ इन्जिनियरिङ कलेजका अध्यक्ष हुन्। प्राध्यापक प्रधान शिक्षामा सुधार गर्न सकेको खण्डमा मात्र समाज परिवर्तन हुने बताउँछन्। राजनीति, शिक्षा र कूटनीतिका विषयमा प्रधानसँग हिमाल प्रेसका चन्द्रशेखर अधिकारीले गरेको कुराकानी :
अहिले आफूलाई केमा बढी व्यस्त राख्नुभएको छ?
पढाउने र सामाजिक कार्यमा बढी व्यस्त छु। अधिक समय काठमाडौँ इन्जिनियरिङ कलेजमा दिइरहेको छु। अध्ययनअनुसन्धानमा रुचि छ। त्यसमा पनि व्यस्त रहन्छु। समाज सुसंस्कृत हुनपर्छ भन्ने लाग्छ। त्यसका लागि पहिले गुणस्तरीय शिक्षा दिनुपर्छ। अनि सुरुवात घरबाटै हुनुपर्छ। त्यही कार्यलाई कसरी अघि बढाउने भन्नेमा कहिलेकाहीँ घोत्लिने गर्छु। अहिले समाज एकोहोरिएको छ। त्यसबाट पार पाउने विषय के हुन सक्छ यसमा समेत छलफल गर्ने गरेको छु।
आफू विद्यार्थी हुँदाताका र अहिलेको पुस्ताका विद्यार्थीमा के भिन्नता पाउनुहुन्छ?
पक्कै पाउँछु। अहिलेका बालबालिकामा धैर्य कम छ। अनुशासनमा ध्यान दिएको पाइँदैन। अटेरीपन बढ्दै गएको देख्छु। यसको कारण हो– घर र विद्यालय शिक्षामा हामी कमजोर हुनु। ठूलठूला भवन भएका विद्यालय छन्। कलेज छन्। तर भनेजस्तो शिक्षा दिन सकिएको छैन।
विद्यार्थीलाई १० देखि ५ बजेसम्म र अन्य थप दुई घण्टा पढाउनैपर्छ। प्रमाणपत्रका लागि मात्र होइन, शिक्षित हुन पढ्नुपर्छ। ‘नेपालमा केही हुँदैन’ भन्ने ‘न्यारेसन’ परिवर्तन गर्न सक्नुपर्छ। नेपालको इतिहास बुझाउन सक्नुपर्छ। अन्य मुलुकले आफ्नो इतिहास बेचेर पर्यटक आकर्षण गरिरहेका हुन्छन्। हामी त्यसमा पनि कमजोर छौँ।
बालबालिकालाई घोकाएर पास गरेर प्रमाणपत्र दिइरहेका छौँ। त्यो प्रमाणपत्र पाउनेमध्ये अलिक अध्ययन गर्नेको रुचि विदेश जाने हुन्छ। यहाँका युवालाई विदेश पठाएर मुलुकको विकास हुँदैन। छोटो समयका लागि अध्ययन गर्न पठाउने छुट्टै कुरा हो।

राजनीतिक परिवर्तन गर्दै हामी गणतन्त्रसम्म आइपुगेका छाैँ। लोकतन्त्रवादीहरू निराश हुनुको कारण के रहेछ?
बीपी कोइरालाजस्ता नेता एक पुस्ताअघि जन्मिए। त्यसयता मुलुक सधैँ सकसमा छ। उहाँ निकै सोचेर नेपाल फर्कनुभएको हो। नेपालमा पनि परिवर्तन होस्। आमनागरिकले पढ्न पाऊन्। समाज परिवर्तन होस् भनेर उहाँ फर्कनुभएको थियो। राजा महेन्द्र र बीपी दुवै उस्तै अद्भुत क्षमता भएका नेता थिए। जसका कारण नेपाल विश्व समुदायमा चिनिए। बंगलादेशलाई समर्थन गर्नेमा रुस पहिलो र नेपाल दोस्रो थियो।
समाज खुला हुनुपर्ने भन्ने छ। युवाहरू पढ्नभन्दा काम गर्न विदेश गइरहेका छन्। समाजमा राम्रो मानिस देख्न नपाइएला कि भन्ने भइसक्यो। ‘यहाँ केही हुँदैन’ भन्ने सोचले जरा गाडेको छ। त्यो राम्रो होइन। यो सोच हट्नुपर्छ। पार्टी संस्कृति बढेको छ। देखासिकी बढेको छ। नकारात्मक सोच वृद्धि भएको छ। छिटो कमाऔँ भन्ने भावना छ। यो हुनुको कारण हो सक्षम नेतृत्वको अभाव। मुलुकमा नेता धेरै भए नेतृत्व गर्ने बलियो व्यक्ति भएन। ‘भिजन’ भएका व्यक्तिसँग सल्लाह लिएर पनि मुलुक बनाउन सकिन्छ। अमेरिकामा रोनाल्ड रेगनलाई हिरो राष्ट्रपति भनिन्थ्यो। अघिल्ला हस्तीले नसकेको काम उनले पार लगाए। सोभियत संघ फुटाइदिए। उनी हलिउड हिरोबाट राजनीतिक हिरो बने।
हामीकहाँ त्यस्तो क्षमता भएका नयाँ पुस्ता छ तर उनीहरू संघर्षरत रहँदारहँदै ऊर्जा सकिएर अहिलेको जस्तै होलान् भन्ने चिन्ता छ। विद्यार्थीलाई नेताहरूले सधैँ प्रयोग गरे। तर उनीहरूले सोचेअनुरूपको काम गर्न सकेका छैनन्। पहिला व्यवस्था परिवर्तन गर्नुपर्ने थियो। त्यसैले पनि शिक्षण संस्थामा विद्यार्थीलाई उपयोग गर्न राजनीतिक नेतृत्व बाध्य थियो।
अब सबै परिवर्तन भइसकेको छ। आवधिक निर्वाचन हुने हो र मुलुक बनाउने हो। कलेज र विश्वविद्यालयमा विद्यार्थी युनियन राखेर राजनीति गर्न आवश्यक छैन। आफ्नो हितका लागि साझा युनियन राखेर काम गरे हुन्छ। यस्ता विषयमा समेत सुधार नहुँदा आमनागरिक अप्ठ्यारोमा परेका हुन्।
लोकतन्त्रमा नि यस्तो हुन्छ र?
यहाँ कहाँ लोकतन्त्र छ र? आफ्नो मानिसलाई पो प्रजातन्त्र आएको छ। नेताको परिवारलाई आएको हो। आमनागरिकले त लोकतन्त्र अनुभव गर्नै पाएका छैनन्। लोकतन्त्र भनेको नियम मिच्न पाउने भन्ने होइन। सबथोक ठीकठाक चल्ने सबै समान हुने भन्ने हो। त्यो सोचमा काम भएको छैन।
हुन त आमनागरिकले पनि निर्वाचनमा कुन दललाई कसरी पठाउने भन्ने विवेकपूर्ण निर्णय गर्नुपर्छ। अब बिस्तारै त्यो पनि अवस्था आउँछ। उदाउन खोजेकाहरू पनि पानीको फोकाजस्तो बन्नु भएन। आमनागरिकलाई जे भनेको हो त्यहीअनुरूप अघि बढ्न सक्नुपर्छ। अन्यथा भन्ने एउटा गर्ने अर्को भएपछि विकल्प खोज्दैनन्? यहाँको आमसोच नकारात्मक छ। त्यसैले हरेक विद्यालयमा नैतिक शिक्षाका साथै योगशिक्षा आवश्यक छ। यसबाट बिस्तारै नकारात्मक भाव मरेर जानेछ।
विदेशमा अध्ययन गरेको व्यक्ति किन नेपाल फर्कनुभयो भन्ने प्रश्न त्यतिबेला कसैको हुन्थ्यो कि हुन्थेन?
म नेपाल छोडेर अन्यत्र गएर बस्न सक्दिनँ। अध्ययन गर्न र घुम्न अन्य मुलुक जान्छु। नेपालमै केही गर्न मन भएर न काम गरेँ। नेपालमा निजी क्षेत्रमा इन्जिनियरिङ नहुँदा सुरु गर्न पहल गरेँ।
सन् १९९८ मा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर स्थापना भएको काठमाडौँ इन्जिनियरिङ कलेज नेपालको पहिलो आईएसओ प्राप्त इन्जिनियरिङ कलेज हो। यसले भारत जाने कैयौँलाई रोकेको छ। कलेजले स्थापनाकालदेखि आफ्ना विद्यार्थीको शैक्षिक वृद्धिलाई निरन्तरता दिएको छ। आफ्नो मेहनतले कमाएको विरासत कायम राख्न कलेज विविध अवरोध पार गरेर यहाँसम्म आइपुगेको हो।
नेपालमा इन्जिनियरिङ शिक्षा प्रदान गर्ने प्रतिष्ठितमध्ये मानिसले नाम लिने कलेजमा पर्छ हाम्रो कलेज। यहाँ इलेक्ट्रोनिक्समा बीई, कम्प्युटरमा बीई, आर्किटेक्चरमा बीई, इलेक्ट्रिकलमा बीई र सिभिलमा बीई पढाइ हुन्छ। हरेक दिन कम्तीमा आधा घण्टा ध्यान गर्ने विद्यार्थीले अध्ययनमा राम्रो गरेका छन्। सोही आधारमा मेडिटेसन र योगमा जोड दिने गरेको छु।
अहिले पनि इन्जिनियर बन्ने आशावादी करिअरका लागि चुनौतीपूर्ण छ। पहिलापहिला सिभिलमा राम्रो गर्नेले जसरी जागिर पाउँथे अहिले पनि उत्तिकै अवसर देखिन्छ। इन्जिनियरिङ क्षेत्र फराकिलो बनेको छ। यसको माग पनि बढिरहेको छ। इन्जिनियरिङ क्षेत्रको पाठ्यक्रम विकसित मुलुकको जस्तै छ। यहाँ उत्पादन भएका इन्जिनियर जहाँ पनि प्रतिस्पर्धी भएर काम गर्न सक्छन्।

कलेजमा छात्रवृत्तिको व्यवस्था पनि छ कि?
छ नि! हामीले विद्यार्थीलाई सरकारले तोकेको छात्रवृत्ति प्रतिशत आधारमा पढाउने गरेका छाैँ। त्यसमा पनि आर्थिक अवस्था कमजोर भएका, जेहनदार, नियमित कलेज आउनेलगायत मापदण्डका आधारमा तय गरेका छौँ। अन्य शैक्षिक संस्थाले पनि छात्रवृत्तिमा पढाएका हुन्छन्। यहाँ त विदेशीले ८-१० जनालाई छात्रवृत्ति दिँदा ठूलो समाचार बन्छ। तर हामी त्यसको तीन गुना दिइरहेका हुन्छौँ।
यति गर्दा पनि किन विद्यार्थी अडिएका छैनन्? किन विदेश जान्छन्?
त्यही त, हामी विदेशमा गएर उनीहरूको मुलुक बनाइरहेका छौँ। आफ्नो मुलुकबारे सोचिरहेका छैनौँ। लिक्वानले सिंगापुर लिँदा केही थिएन, तर बनायो। त्यो अध्ययन गरौँ। मलेसियालाई माहथिरले कसरी समुन्नत बनाए, त्यो हेराैँ। थाइल्यान्डको विकास नियालौँ। छिमेकको त कुरै छोडौँ।
चीनको परिवर्तन र विकास पनि हेर्नु। त्यहाँ बजारलाई कसरी खुला गरियो? नागरिक कसरी अनुशासित भए? नेता राम्रो हुँदा सबै हुन्छ, अन्यथा केही हुँदैन। नेपाली सहनशील, मेहनती हुँदाहुँदै पनि नेपाल किन पछि परेको हो बुझ्न सकिन्न। एक जनामात्र राम्रो नेता भए मुलुक बनिहाल्छ। हाम्रो कर्मचारीतन्त्र पनि खत्तम छ। त्यसको कारण राजनीतिक दल हुन्। नेताले नेतृत्व लिएमा नेपालको विकास हुनेछ।
राम्रो नेतृत्व नभएर नेपालको विकास हुन नसकेको हो त?
यसमा दुईमत छैन। राणा फालेर प्रजातन्त्र ल्यायौँ। त्यसपछि फेरि राजाले शासन गरे। फेरि प्रजातन्त्र अनि माओवादी द्वन्द्व र २०६२/६३ को आन्दोलन र त्यसपछि गणतन्त्र हुँदा पनि राजनीतिक परिवर्तन नपुगेको जस्तो भएको छ। राजनीतिक दलहरूको अझै चेत खुलेको छैन। विद्यालयमा भ्रातृ संगठन राखेका छन्।
किन चाहियो भ्रातृ संगठन? भएको व्यवस्थालाई राम्रोसँग अघि बढाउन आवश्यक छ। गणतन्त्रमा ‘राइट म्यान इन राइट प्लेस ’मा नराखेपछि समस्या भएको हो। गलतलाई पनि सही मान्दा समस्या भयो।
विद्यार्थीलाई राजनीतिमा संलग्न गराएर बिगार्ने अधिकार कुनै दललाई छैन। विद्यार्थीको काम र धर्म पढ्ने हो। उनीहरूलाई पढ्न दिनुपर्छ। आफैँलाई प्रश्न गर्न आवश्यक छ। नेताले आफैँलाई प्रश्न गर्नुपर्छ।
देशमा प्रजातन्त्र आयो। जुन सोचमा आएको वा ल्याएको भए पनि त्यसको सही प्रयोग हुन सकेन। छलफल र बहस गर्न आवश्यक छ। धन बेचे पो नेपाल धनी हुन्छ। तर हामीले अहिले त गरिबी बेचेका छौँ। पर्यटनको विकासमा पनि सबै मिलेर सहकार्य गर्नुपर्छ।
हामी राम्रा कुरा नसुन्ने र नराम्रा कुरामात्रै सुन्ने भएका छौँ। अरुण तेस्रो बनाउन नदिनु मुलुकका लागि घात हो। यहाँ त ज्ञान भएकाले पनि अनेकन् परियोजनाको लोभमा राजनीति गर्ने गर्छन्। अब त्यसरी हुँदैन हाम्रो धन के हो, सोच्न र मन्थन गर्न आवश्यक छ।

यहाँ त योजना आयोगमा समेत बस्नुभएको हो, त्यहाँ कसरी कार्यान्वयन तहमा जानेछ?
नेपालको विकासक्रमलाई नियाल्दा हामीले छिमेकलाई समेत बुझाउन सकेका रहेनछौँ। अनि कसरी मुलुक राम्रोसँग चल्छ त? यसबारे पनि कुराकानी हुनुपर्छ। नेपालमा भारतविरोधी बढेको बुझाइ भारतको छ। पछिल्लो समय यहाँ ‘एन्टी इन्डियन’ भावना मौलाएको उसको बुझाइ छ।
नेपाली कांग्रेसले मात्र भारतसँग कुरा गरेर मिलाउन सक्छ। अन्यले त्यसमा चासै देखाउँदैनन्। साझा समस्या मिलेर समाधान गर्न सकिन्छ। नेपाल-भारत मैत्री सन्धिको ईपीजी रिपोर्ट किन भारतले बुझेन त्यसको कारण खोज्ने काम कूटनीतिज्ञहरूको हो।
त्यसो भए हामी कमजोर भएर छिमेकबाट कुनै काम लिन नसकेका हौँ त?
हो त। किनकि मोदीको भ्रमणको समयमा सबै नेपालीमा आशा जागेको थियो। पानी लैजाने र पैसा दिने कुरा भएको थियो। त्यो असम्भव थिएन। हामीले सुन्यौँ तर काम गरेनौँ। हामीले पनि ‘पानीको पैसा देऊ’ भनेर कुरा गर्न नसक्दा समस्या भएको हो। हामीमा एक जना, दुई जना धनी होइन मुलुक धनी हुने अवस्था छ। तर त्यो काम गर्न सरकारले सकिरहेको छैन। सरकारले मेलोमेसो पाएको पनि छैन।
हामीले भारत र चीनसँग छुट्टाछुट्टै कुरा गरेर आफ्नो सामग्री बेच्न सक्नुपर्छ। हामीसँग पहिला पैसा हुनुपर्छ। अनि मात्र पर्यटन क्षेत्रको विकास अर्को चरणमा जानेछ। त्यो नै कार्य समयमा नहुँदा यस्तो समस्या आएको हो। हामीसँग बेच्ने पर्यटन, जडीबुटी, खनिज, पानी, बत्ती सबै छन्। तर टुरिजम इन्फास्ट्रकचर छैन। जडीबुटी छ। त्यसको प्रक्रियाबारे जानकारी छैन। त्यसमा हामीले विदेशीलाई ल्याएर काम गराउनुपर्छ।
हामी न भारतको विश्वासपात्र बन्यौँ, न चीनको। दुवैतिर मिलाउँछु भन्दा दुइटैले विश्वास गर्न छोडेको अवस्था छ। नेहरु नेपाल आउँदाको समयमा छलफलको एजेन्डा र अहिले हुने छलफल नियाल्दा टीठ लाग्छ। त्यतिबेला चीनतर्फ भएको पोस्ट हटाउने काम भयो। भारततर्फ पनि सीमांकन गर्ने काम भयो। उतिखेर चीनले भारतलाई आक्रमण गर्ने जानकारी नेपालले भारतलाई भन्दा पहिले वास्ता गरेन। पछि त्यो सत्य ठहरियो। अनि भारत नेपालसँग सम्पर्क बढाउँदै चीनतर्फ नेपाल आकर्षित नहोस् भन्न थाल्यो।
आगामी दशकमा नेपाल कस्तो होला?
७० को दशकमा नेपालले धेरै भोगेर सिकेको छ। कतिपय कुरा नपरी जानकारी हुँदैन भनिन्छ। अहिले हामी परिसकेका छौँ। आन्दोलन गरेर उपलब्धि हात पारिसकेका छौँ। यसलाई व्यवस्थापन गर्ने र सुधार गर्दै लैजाने हो। त्यसमा छिमेकीद्वय र अन्यसँग मिलेर अघि बढ्नुपर्छ। छिमेक र मित्र मुलुकको मन जित्नुपर्छ। किनकि नेपाल भूपरिवेष्टित मुलुक हो। कुनै छिमेकीसँऊ सिंगौरी खेल्न हुँदैन। कूटनीतिक रूपमा व्यवस्थापन गर्दै जानुपर्छ।


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 