फाइल तस्बिर
काठमाडौँ- राष्ट्रियसभा सदस्य बामदेव गौतमले कालापानीबाट भारतीय सुरक्षा फौज फिर्ता लैजानुपर्ने बताएका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले कालापानी, लिपुलेक र लिम्पियाधूराबाट भारतले आफ्ना सुरक्षा फौज र कर्मचारी तत्काल फिर्ता लैजानुपर्ने बताएका हुन्।
दार्चुलास्थित उक्त क्षेत्रहरू नेपाली भूभाग भएकाले कुनै पनि हालतमा नेपालले फिर्ता लिनैपर्ने गौतमको भनाइ थियाे। भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तर्राष्ट्रिय कानुनहरूले पनि सहयोग गर्ने सुझाव दिए।
नेपालको संसद्मा सबै राजनीतिक दलहरूको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्सामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएकाले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने पटकपटक दोहोर्याए।
शनिबार काठमाडौँमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रूपमा लिखित पुस्तक ‘नेपाल इन्डिया फ्रन्टियर डिप्लोमेसी इन रिफ्रेन्स टु काली रिभर : पर्स्पेक्टिभ अफ इन्टरनेसनल ल’को बिमोचनमा सांसद गौतमले कालापानीलगायत क्षेत्र नेपालको हो भन्ने कुरामा कुनै दुविधा नरहेको दाबी गरे।
‘प्रतिनिधिसभाले सर्वसम्मतिले नेपालका राजनीतिक पार्टीहरूको सर्वसम्मतिले त्यो कालापानीदेखि लिपुलेक, लिम्पियाधुरासम्मको भूभाग नेपालको हो,’ उनले भने, ‘नक्सा जारी गरेर संसारको अगाडि देखाउनुपर्छ भनेर निर्णय गरेर त्यो नक्सा जारी गरियो। सरकारको नीति तथा कार्यक्रममा समावेश गरियो। त्यो भूभाग नेपालको भन्ने कुरामा नेपाली जनतामा कुनै दुविधा छैन।’
नेपालले भारतको मिचाहा प्रवृत्तिले अतिक्रमण गरिएका भूभागबाट भारतीय सेना, भारतीय कर्मचारीहरू तुरुन्त फिर्ता भएर भारतमा जानुपर्ने उनको भनाइ थियो।
‘त्यो हाम्रो भूमिका बस्न पाइँन्न भन्ने विषय हाम्रो आजको विषय हो,’ उनले भने।




