कात्तिकबाटै बजेट बनाउने प्रक्रिया सुरु गरौँ, अहिलेको छलफल व्यर्थ छ : गगन थापा

हिमाल प्रेस २७ वैशाख २०८० १३:२४ | Wednesday, May 10, 2023
कात्तिकबाटै बजेट बनाउने प्रक्रिया सुरु गरौँ, अहिलेको छलफल व्यर्थ छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको काम कात्तिकबाटै सुरु गर्नुपर्ने बताएका छन्। बुधबार संसद् बैठकमा बोल्दै उनले विनियोजन विधेयकमाथिको छलफलपछि बन्ने प्रतिवेदन कार्यान्वयन नहुने भएकाले बजेटको काम कात्तिकबाटै सुरु गर्नुपर्ने बताएका हुन्।

‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतमाथिको छलफलपछि एउटा प्रतिवेदन पठाउँछौँ। सिद्धान्ततः यो प्रतिवेदनमा आधारित भएर विनियोजन विधेयक बनाउनुपर्छ,’ उनले भने, ‘अर्थ मन्त्रालयमा सबै मन्त्रालयको बजेट लक भएर छापिने अवस्थामा छन्। केही दिनमै छापिन्छ। यत्रो समय हामीले किन व्यर्थ फालेको?’

उनले बजेट बनाउने तरिका बदल्नुपर्ने धारणा राखे। ‘कात्तिकमा स्रोत समितिको बैठक राखौँ। खर्चको सीमा निर्धारण गरौँ। मंसिरमा सरकारले विनियोजन विधेयकको सिद्धान्त संसद्‍मा प्रस्तुत गरोस्, एक महिना छलफल गरौँ,’ उनले भने, ‘पुसमा संसद्‍बाट पारित भएको सिद्धान्तको आधारमा मन्त्रालयले सम्बन्धित सिलिङ र मार्गदर्शन पाओस्। यसको आधारमा माघमा मन्त्रालयबाट प्राप्त कार्यक्रमसहित फेरि संसद्‍मा आओस्। हामी छलफल गर्छौँ।’

अर्थ समितिलगायतका विषयगत समितिमा पठाएपछि बजेट निर्माणको क्रम अर्थ मन्त्रालयबाट सुरु हुने र बजेट कार्यान्वयन गर्न चाहिने ऐन नियमको सूची चैतमा संसद्‍मा प्रस्तुत गर्नुपर्ने उनले बताए। ‘चैत-वैशाखमा नीति तथा कार्यक्रम र बजेट मात्रै होइन, ऐन नियम पनि पारित गर्छौँ,’ उनले भने, ‘स्वीडेन, न्युजिल्याण्डलगायतका देशमा यही हुन्छ। यो असल अभ्यास हो। असल अभ्यास अनुसरण गरौँ।’

नत्र संसद् र सरकारसँग बजेट कहिल्यै नजोडिने पनि उनको भनाइ छ। ‘बजेट सरकारले ल्याएको भन्छौँ तर त्यसो हुँदैन,’ उनले भने, ‘अर्थ मन्त्रालय र त्यसभित्रका सीमित कर्मचारीको संलग्नतामा बजेट आउँछ। दोष कसैको होइन, परिपाटीको हो। यो बदलौँ।’

प्रकाशित: २७ वैशाख २०८० १३:२४ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast