कांग्रेसलाई गाली गर्दै पूर्वआईजीपी बोहराले छाडे पार्टी

हिमाल प्रेस १९ वैशाख २०८० १५:३६ | Tuesday, May 2, 2023
कांग्रेसलाई गाली गर्दै पूर्वआईजीपी बोहराले छाडे पार्टी

काठमाडौँ- नेपाल प्रहरीका पूर्वप्रमुख (आईजीपी)समेत रहेका मोतीलाल बोहराले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन्। कांग्रेसका नेताहरू सत्ता र शक्तिमा रहँदा पटक-पटक जनविरोधी कार्यक्रम गरिरहेको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन्। उनले नेपाली कांग्रेसको गतिविधिले विरक्त लागेको भन्दै पार्टी छोड्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

कांग्रेस छोडेको घोषणा गरेका उनले आफू स्वतन्त्र नागरिकको हैसियतमा समाजसेवालाई भने निरन्तरता दिइरहने बताएका छन्।

‘…देश संकटको भूमरीमा परेका वखतसमेत नेपाली कांग्रेस मौन छ, त्यसो हुनाले अब यस पार्टीसँगको आवद्धता औचित्यहीन सम्झी आजैका मितिदेखि मैले नेपाली कांग्रेस पार्टी परित्याग गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँछु,’ उनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘महंगी र असुरक्षा भावले जनतामा फैलिएको असन्तुष्टीले क्रमशः देशव्यापी आक्रोशको आकार लिFदै गएको यथार्थ सबैसामू छ। अब त्यो आक्रोसले भयावह आन्दोलनको रुप लिने त होइन?

माथिल्लो तहका नेताहरूले निष्ठावान कार्यकर्ताको सम्मान गर्न नसकेको उनको आरोप छ। सरकारले अयोग्य लडाकुलाई रकम बाँड्न भन्दै राज्यको ढुकुटी रित्याउन लाग्दा पनि पार्टीले केही नबोलेको प्रति उनको गुनासो छ। कांग्रेसका नेताहरू गतिहीन, मतिहीन र तमासे भएको पनि बताएका छन्।

कर्मचारीले तलब भत्ता नपाउने अवस्थामा राज्यको ढुकुटी रित्याउने तयारी भएको र यसमा कांग्रेस रमिते भनेको उनको भनाइ छ। ‘अहिले ‘अयोग्य’ ठहरिएका पूर्व लडाकुहरू पनि नेपाली नागरिक हुन्। उनीहरूलाई सहयोग गर्नु हुँदैन भन्ने मेरो मनसाय कदापि होइन। उनीहरूलाई पनि यथायोग्य रोजगार उपलब्ध गराई दिनु राज्यको जिम्मेवारी भित्रै पर्दछ,’ उनले भने, ‘तर, प्रत्येकलाई दुई–दुई लाख रुपैयाँ राज्यको ढुकुटीबाट बाँडने निर्णयको विषयमा कांग्रेस कोटाका अर्थमन्त्री पनि पानीमाथिको ओभानो हुन खोजेको घटना अझबढी हास्यास्पद छ। किन दुधको साक्षी बिरालो हुन परेको?’

प्रकाशित: १९ वैशाख २०८० १५:३६ | Tuesday, May 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast