उद्दारमा खटिएका नै आगोलागीमा जले

हिमाल प्रेस २७ वैशाख २०८० ८:४५ | Wednesday, May 10, 2023
उद्दारमा खटिएका नै आगोलागीमा जले

अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ।

आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो।

पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो।

यस्तै घनश्यामको उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

मंगलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए।

आगलागीबाट २६ वर्षीया अस्मिता बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेसमेत घाइते भएका छन्। माधवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजान सिफारिस गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लैजान सिफारिस गरिएको थियो।

यसैबीच सन्धिखर्क नगरपालिका–४ वाङलास्थित मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन्। आगलागीबाट चार भैँसीसमेत जलेर मरेका छन्।

कुखुरा फार्ममा आगलागी हुँदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगलागीबाट मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालद्दिन मियाँ, सफी मियाँ र समसेर मियाँका घरगोठ जलेर नष्ट भएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए।

प्रकाशित: २७ वैशाख २०८० ८:४५ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast