आर्थिक सर्वेक्षण: अर्थतन्त्र सुधार हुँदै गएको दाबी

हिमाल प्रेस १४ जेठ २०८० १५:५६ | Sunday, May 28, 2023
आर्थिक सर्वेक्षण: अर्थतन्त्र सुधार हुँदै गएको दाबी

काठमाडौँ- सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। मुलुकको आर्थिक एवं सामाजिक स्थिति उल्लेख गरिएको आर्थिक सर्वेक्षण अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेका हुन्।

गत फागुनसम्मको आर्थिक गतिविधि एवं तथ्यांकमा आधारित सर्वेक्षणमा मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दाबी गरिएको छ। कोभिड-१९ महामारीबाट प्रभावित विश्व अर्थतन्त्र सुधारोन्मूख हुँदै गएको सर्वेक्षणमा उल्लेख छ।

अधिकांश देशमा सार्वजनिक ऋण उच्च भएका कारण अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि थप वित्तीय स्रोत परिचालन गर्न वित्त नीतिको दायरा सीमित हुन पुगेको सर्वेक्षणमा उल्लेख छ।

रुस-युक्रेन युद्धका कारण वस्तुको मूल्यमा तीब्र वृद्धि भएर विश्व मुद्रास्फीतिमा दबाब परेको र पछिल्लो समय कम हुँदै गएको पनि सर्वेक्षणमा उल्लेख गरिएको छ। ‘चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन संकुचन हुने अनुमान छ।’

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २.१६ प्रतिशत रहने अनुमान आर्थिक सर्वेक्षणमार्फत गरिएको छ। साथै ऊर्जा उत्पादन बढेका कारण विद्युत्, ग्यासलगायत क्षेत्रको उत्पादन १९ प्रतिशतले विस्तार हुने अनुमान रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा ५.२६ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र बागमती प्रदेशको सबैभन्दा कम १.८० प्रतिशत रहने अनुमान आर्थिक सर्वेक्षणमार्फत गरिएको छ।


प्रकाशित: १४ जेठ २०८० १५:५६ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast