 
                             
                                            काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार प्रभास मुख्य भूमिकामा रहेको फिल्म ‘आदिपुरुष’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको कथा महाकाव्य ‘रामायण’मा आधारित छ।
सवा तीन मिनेटभन्दा लामो ट्रेलरमा राम वनवास जानु, सीताहरण, सीताको खोजी र राम-रावण युद्ध देखाइएको छ।
फिल्ममा प्रभास राघव बनेका छन्। बलिउड अभिनेत्री कीर्ति सेनन सीताको भूमिकामा रहेकी छन्। सन्नी सिंह लक्ष्मणको भूमिकामा छन् भने रावण बनेका छन्, अभिनेता सैफ अली खान।
यसअघि अक्टोबर २ मा फिल्मको टिजर सार्वजनिक भएको थियो। टिजरमा भीएफएक्सको धेरैले आलोचना गरेका थिए। भीएफएक्स गुणस्तरीय नरहेको भनेर कतिपयले आपत्ति जनाएका थिए। टिजरमा आलोचनापछि अहिले ट्रेलरमा केही परिवर्तन देखिएका छन्।
अगस्त ११ मा प्रदर्शनमा आउने भनिएको फिल्मको प्रदर्शन मिति सरेर जुन १६ मा पुगेको छ। ओम राउतको निर्देशनमा बनेको फिल्म हिन्दीबाहेक तेलुगु, तमिल, कन्नड, मलयालम भाषामा रिलिज हुनेछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 