 
                            
                                            काठमाडौँ- सूर्यकुमार यादवले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो पटक शतक प्रहार गरेपछि मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ। वाङखेडे रंगशालामा शुक्रबार राति टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २१८ रनको योगफल तयार पारेको थियो।
रशिद खानले ७९ रन बटुले पनि शीर्षस्थानको गुजरात टाइटन्सले लक्ष्य भेटेन। आठ विकेटको क्षतिमा १९१ रनमा सीमित भयो।
गुजरातलाई हराएपछि मुम्बईको १२ खेलबाट १४ अंक भएको छ। हारे पनि गुजरात शीर्षस्थानमा यथावत् छ। गुजरातसँग १६ अंक छ भने दोस्रो स्थानको चेन्नाई सुपर किंग्सले हालसम्म १५ अंक बटुलेको छ। गुजरात, चेन्नाई र मुम्बईले शीर्ष तीन स्थान ओगट्दा राजस्थान रोयल्स, लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलोर क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन्।
लगातार चौथो खेलमा २०० वा बढी रन बनाएको मुम्बईका लागि यादवले ४९ बलमा १०३ रन जोडेको थिए। पछिल्लो समय एकाएक बलियो लयमा देखिएका यादवले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध ८३ रन बनाएका थिए। मुम्बईलाई सातौँ जित दिलाउन कप्तान रोहित शर्माले २९, इशान किशनले ३१ र विष्णु विनोदले ३० रनको योगदान गरे।
२१९ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको गुजरात सामान्य योगफलमा समेटिने अवस्थामा पुगेको थियो। तर अफगानिस्तानका रशिदले ३२ बलमा १० छक्का र तीन चौकासम्मिलित अर्धशतक प्रहार गरेपछि गुजरातले सम्मानजनक स्कोर गर्न सकेको थियो।
रशिदले अन्तिम विकेटका लागि अल्जारी जोसेफसँग ८८ रनको साझेदारी गरे। त्यसअघि डेभिड मिलर र राहुल टेवाटियाले मिलेर ४५ रन बनाएका थिए। मिलरले २६ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४१ रन जोडे। टेवाटिया १४ रनमा आउट भए। कप्तान हार्दिक पान्ड्या चार रनमा समेटिँदा विजय शंकरले २९ रनको योगदान गरे।
गुजरातलाई जितबाट वञ्चित गर्न आकाश माधवालले तीन विकेट हात पारे। त्यसैगरी पियुष चावला र कुमार कार्तिएकाको नाममा दुई–दुई विकेट रह्यो। जेसोन बेहेरेन्डोफले एक विकेट हात पारे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 