आईएफआरसीको महासचिवमा पुनः चापागाईं

हिमाल प्रेस २८ वैशाख २०८० ८:४८ | Thursday, May 11, 2023
आईएफआरसीको महासचिवमा पुनः चापागाईं

काठमाडौँ- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं पुनः चयन भएका छन्।

यो पदमा पुग्ने उनी पहिलो नेपाली हुन्। चापागाईँले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हालेका थिए।

स्वीट्जरल्याण्डको जेनेभामा गएराति सम्पन्न आईएफआरसी’को ‘गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्षअघि नै उनलाई दोस्रो कार्यकालका लागि चयन गर्ने निर्णय गरेको हो।

बोर्डमा विश्वका २९ देश सहभागी छन्। चापागाईंले सन् २०२८ को जनवरीसम्म आईएफआरसीको सर्वोच्च पदको नेतृत्व गर्ने छन्। दोस्रो कार्यकालका लागि चुनिएपछि महासचिव चापागाईँले आईएफआरसीको गभर्निङ बोर्ड र आईएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा गौरवान्वित भएको बताए।

‘थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ’, उनले भने।

विश्वका एक सय ९२ देशका रेडक्रस आइएफआरसीमा आबद्ध छन्। सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसंख्यालाई‍ आइएफआरसीले बर्सेनी मानवीय सहायता पुर्‍याउने गरेको छ।

साथै रेडक्रस अभियानले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्नेछ।

रासस

प्रकाशित: २८ वैशाख २०८० ८:४८ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast