‘अक्षरको आयतन’ लिएर आइन् सुषमा

हिमाल प्रेस २९ वैशाख २०८० १२:१७ | Friday, May 12, 2023
‘अक्षरको आयतन’ लिएर आइन् सुषमा

काठमाडौँ- कवि सुषमा आचार्य ‘अंशु’ द्वारा रचित ‘अक्षरको आयतन’ कविता संग्रह लोकार्पण गरिएको छ। राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमसहित कविसाहित्यकारहरूले संयुक्त रूपमा कृति विमोचन गरेका हुन्।

संग्रहमा नारी अधिकार, देशप्रेम, प्रकृतिप्रेम, मानवीय प्रेम र समसामयिक विकृतिमाथि लेखिएका कविता छन्। कार्यक्रममा समालोचक डा. गौतमले आचार्यका केही कविता स्रष्टासँग वार्ता गरेजस्तै रहेको बताए। संकेतात्मक रूपमा लेखिएका कविता वेदका मन्त्रजस्ता सूक्तिमय रहेको उनको भनाइ छ।

गौतमले भने, ‘मस्तिष्क र हृदय दुवैले पढ्न सकिने खालका कविता अब्बल हुन्छन्। कविता पढ्दा हृदयले मात्रै होइन, मस्तिष्कले पनि काम पाउने हुनुपर्छ। सुषमाका कविता हृदयले पढिने खालका छन्।’

यसैगरी सुषमाका कविता पढ्दा उनको व्यक्तित्वसँग भावना र अनुभूति अत्यधिक रहेको पाइने गौतमले बताए। कवितामा भावना र अनुभूतिलाई प्रस्तुत गर्न शैलीको विशेष भूमिका हुने र शैलीले नै स्रष्टालाई थप चिनारी दिने गौतमले बताए।

उनले भने, ‘स्रष्टालाई चिनिने आधार भनेको नै शैली हो।’ उनले कृतिका केही कविता उत्कृष्ट र शक्तिशाली रहेको र सुषमासँग योभन्दा पनि उत्कृष्ट काव्य सिर्जना गर्ने क्षमता रहेको बताए। उनले भने, ‘अबको कृति यसलाई उछिन्ने खालका हुनुपर्छ।’

कृतिमा समालोचकीय टिप्पणी गर्दै डा. शान्तिमाया गिरीले सुषमाका कविता संग्रहको शीर्षकजस्तै विषयको आयातन पनि फराकिलो रहेको बताइन्। संग्रहमा प्रकाशित कविताले भिन्नभिन्न विषयलाई कलात्मक रूपमा प्रस्तुत गरेको उनको भनाइ छ। उनले घरायसी काम, कार्यालयको जिम्मेवारी, परिवारको रेखदेख र साहित्य सिर्जनामा एकैपटक संलग्न भएर सुषमाले आफ्नो उदाहरणीय व्यक्तित्व प्रस्तुत गरिरहेको बताइन्।

प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको सभापतित्वमा भएको विमोचन समारोहमा महासचिव मधु पाठकले कवि आचार्यको व्यक्तित्वका विषयमा प्रकाश पारेका थिए।
३६ वटा रहेको आचार्यको यो पहिलो एकल कविता संग्रह हो। यसअघि उनको प्रतिबिम्ब (संयुक्त कविता–गजल संग्रह), गीतगंगा (संयुक्त गीति संग्रह) र निषेधाज्ञाका प्रतिबिम्बहरू (संयुक्त कविता संग्रह) प्रकाशित छन्।

‘अक्षरको आयतन’ प्रतिष्ठानले प्रकाशन गरेको दोस्रो कृति हो। एक वर्षअघि स्थापित प्रतिष्ठानले यसअघि निषेधाज्ञाका प्रतिबिम्बहरू नामक संयुक्त कविता संग्रह प्रकाशित गरेको थियो। उक्त संग्रहमा आचार्यसहित, ऋषभदेव घिमिरे, रञ्जना निरौला, डा. शान्तिमाया गिरी, सुमन वर्षा र सुषमा आचार्य ‘अंशु’ का कविता संगृहीत छन्।

प्रकाशित: २९ वैशाख २०८० १२:१७ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast