काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय कर्मचारीका माग पूरा गर्न कर्मचारीको प्रतिनिधि भएर संसद्मा कुरा उठाउने बताएका छन्। शनिबार नेपाल विद्यालय कर्मचारी परिषद्ले आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शिक्षक र कर्मचारीलाई समान व्यवहार हुनुपर्ने बताएका हुन्। सो विषयमा विद्यालय कर्मचारीको प्रतिनिधित्व आफूले गर्ने उनले बताए।
सामुदायिक विद्यालयका कर्मचारीले उठाएका माग गम्भीर रहेको र न्यूनतम आवश्यकता रहेका माग मात्रै उठाइएकोले सरकारले पूरा गर्नुपर्नेमा जोड दिए। ‘सँगै रहेको शिक्षक खादामाला लगाएर पेन्सन पट्टा लिएर विद्यालयबाट बिदा भएर जाँदै गर्दा त्यही विद्यालयमा रहेर घण्टी बजाउने कर्मचारी रित्तो हात लिएर जानुपर्ने अवस्था छ, यसलाई सरकारले गम्भीर रूपमा लिएर छिटै सम्बोधन गर्नुपर्छ,’ उनलेभने।
उनले यस विषयमा अर्थमन्त्रीसँग कुरा भइसकेको बताउँदै प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराउने बताए। साथै सामुदायिक विद्यालयका कर्मचारीको सेवासुविधाका बारेमा नेपाली कांग्रसको घोषणा पत्रमा उल्लेख गरिए पनि यसले मात्रै नहुने र यो विषयलाई संसद्यमा पेस गरी बजेट अधिवेशनमा राख्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले सामुदायिक विद्यालयका कर्मचारीहरूका माग पूरा गर्नका लागि निरन्तर लागिपरेको र कर्मचारीहरूलाई गलत कुराहरू नगरिदिन आग्रह गरिन्। तुलाधरले ३० बुँदे र ५१ बुँदे सम्झौतामा कर्मचारीहरूका पनि माग समावेश गरिएको स्मरण गराउँदै एक्लै आन्दोलनमा नजान र जानै परै सँगै जाने बताइन्।