चिकित्सा शिक्षा व्यवस्थित बनाउन गठित चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्दै आएको छ। चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्ने, बजारको माग र अध्ययन संस्थानको क्षमताअनुसार सिट संख्या निर्धारण गर्ने, शुल्क मापदण्ड तोक्ने आयोगका अन्य जिम्मेवारी हुन्। आयोगले गर्दै आएको काम, योजना र एकीकृत प्रवेश परीक्षाका विषयमा उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीसँग गरिएको कुराकानी :
चिकित्सा शिक्षा व्यवस्थित गर्न केकस्ता काम भइरहेका छन्?
आयोगले वार्षिक क्यालन्डरअनुसार परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्दै अएको छ। स्नातक र स्नातकोत्तर तहका एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेर उत्तीर्ण विद्यार्थीको योग्यताक्रमका आधारमा भर्ना लिन म्याचिङ लिस्ट प्रकाशन गरिन्छ। सेवा प्रवाह सहज बनाउन सबै विवरण अनलाइनमा प्रविष्ट गर्ने, विद्यार्थीलाई सहज रूपमा प्रमाणपत्र प्रदान गर्ने व्यवस्था मिलाउने लगायतका काम भइरहेका छन्।
म्याचिङ लिस्टअनुसार विद्यार्थी भर्ना भएका छैनन् भन्ने गुनासो छ नि?
आयोगले प्रकाशन गरेको म्याचिङ लिस्टकै आधारमा क्याम्पसले भर्ना लिने गरेका छन्। यसमा केलाई आधार मान्ने भन्ने विषयमा सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन छ। आदेश आएपछि सोहीअनुसार भर्ना प्रक्रिया अघि बढ्छ। हामीले सकेसम्म विवाद नहुने गरी सूची निकाल्ने गरेका छौँ। यसलाई अझ व्यवस्थित बनाउँदै लैजानेछौँ।
विद्यार्थीलाई प्रदान गरिने सेवा चुस्त बनाउन के गर्नुपर्छ?
आयोगले भएका कमीकमजोरी सुधार गर्दै सेवा प्रवाह प्रभावकारी ढंगबाट अघि बढाउनुपर्छ। शुल्क निर्धारण गर्दा होस् वा सिट संख्या निर्धारण गर्दा बजारको माग, आवश्यकता र राज्यको क्षमतालाई ध्यान दिनुपर्छ। आयोगको सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग, सफ्टवेयर परिस्कृत गर्दैै लाने, परीक्षा प्रणाली व्यवस्थित गर्दै लानुपर्ने हुन्छ।
चिकित्सा शिक्षाको गुणस्तर वृद्धि गर्न आयोगको भूमिका कस्तो हुनुपर्छ?
चिकित्सा शिक्षाको गुणस्तर वृद्धि गर्ने सवालमा हामी सचेत छौँ। एकीकृत प्रवेश परीक्षा सञ्चालन, मापदण्ड पुगेका अध्ययन संस्थाको सिटसंख्या निर्धारण, चिकित्सा शिक्षा मापदण्डअनुसार शिक्षण संस्था सञ्चालन गर्नुपर्ने विषयमा आयोगको भूमिका महत्त्वपूर्ण रहन्छ। योग्य विद्यार्थी भर्ना गर्दा शैक्षिक गुणस्तर पनि उत्कृष्ट बन्दै जान्छ। कक्षाकोठा, त्यहाँको शैक्षिक वातावरण, शिक्षकको योग्यता, पठनशैलीले गुणस्तर निर्धारण गर्ने भएकाले पनि त्यसतर्फ आयोगले ध्यान दिने गरेको छ। शिक्षण संस्थाको अनुगमन र मूल्यांकन गरेर सिटसंख्या थपघट गरिने भएकाले पनि शैक्षिक गुणस्तर वृद्धि गर्ने सवालमा आयोगले कसैसँग सम्झौता गर्दैन।
आयोगले सञ्चालन गर्ने प्रवेश परीक्षाको तयारी गर्ने सोचमा रहेका विद्यार्थीलाई के भन्नुहुन्छ?
कक्षा १२ को परीक्षा सकिएपछि चिकित्सा शिक्षातर्फका विषय अध्ययन गर्न चाहने विद्यार्थीले आयोगले लिने प्रवेश परीक्षाको तयारी गर्नुपर्ने हुन्छ। नेपालमा मेडिकल शिक्षा आर्जन गर्न प्रवेश परीक्षा उत्तीर्ण हुनैपर्छ। यस्तो प्रतिस्पर्धी परीक्षा भएकाले राम्रो गर्ने विद्यार्थीले मात्र भर्ना पाउँछन्। आयोगले योग्य व्यक्ति छान्ने भएकाले पाठ्यक्रममा आधारित भएर तयारी गर्नुपर्ने हुन्छ।
नेपालमै चिकित्सा शिक्षा पढ्नुपर्ने कारण?
नेपालमा चिकित्सा शिक्षा आर्जन गर्दा विद्यार्थीलाई सहज हुन्छ। पाठ्यक्रम यहाँको परिवेशअनुसार तयार गरिएको हुन्छ। विदेशको पढाइ आफ्नै देश अनुकूल हुने भएकाले नेपालमा आएर लाइसेन्स परीक्षा उत्तीर्ण गर्न असहज हुन्छ। सम्भव भएसम्म आफ्नो देशमा पढ्नु राम्रो हो। कोभिड १९ को महामारीका समयमा विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका विद्यार्थीले धेरै दुःख पाएका छन्। नेपालमै पढ्ने उद्देश्यले विद्यार्थीले तयारी गर्दा राम्रो हुन्छ।
नेपालमा सीमित सिटसंख्याका कारण अन्य देशमा पढ्न जानुपरेको हो?
विद्यार्थी अन्य मुलुकमा जानुपर्ने अवस्था आउनु हुँदैन। सिटसंख्या र क्याम्पसको क्षमता वृद्धि गर्ने विषयमा आयोगले अध्ययन थालेको छ। हामीले छिट्टै कुन विषयमा कति जनशक्ति चाहिन्छ भनेर रिपोट तयार गर्दैछौँ। सोहीअनुसार नीति बनाउन सरकारलाई सुझाव दिन्छौँ।