नेपाली कांग्रेसका नेता एवं सत्तारुढ गठबन्धनमा उम्मेदवार गोविन्द भट्टराईले तनहुँ–१ को उपनिर्वाचनको अन्तिम परिणाम नपर्खिकन हार स्वीकार गरेका थिए। सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिँदै भट्टराईले लोकतान्त्रिक अभ्यास जीवन्त राख्ने प्रयास गरेका हुन्।
‘सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वासयोग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ’, भट्टराईले लेखेको देखेपछि मेरो मानसपटलमा केही दिनअघि एमालेका साथीहरूले भनेको कुरा याद आयो। उनीहरूले भनेका थिए, ‘हाम्रा उम्मेदवार जित्दैनन्। उनलाई दिने मत स्वर्णिमलाई दिएर कांग्रेस हराउनेछौँ।’ अन्ततः त्यही भयो। गोविन्दजस्ता सरल व्यक्तिले चुनाव हारे। एमालेका सर्वेन्द्र खनाल तेस्रोमा सीमित भए।
एमालेले मंसिरमा १९ हजार मत ल्याए पनि अहिले ९ हजार कटाउन सकेन। यसबाट स्पष्ट हन्छ एमालेको मत स्वर्णिमलाई गयोे। खुलुमखुला स्वर्णिमलाई समर्थन गरेर कांग्रेसलाई एक सांसदको कोटा भए पनि घटाउने एमालेको दाउ सफल भएको छ। हामीले जित्ने होइन भन्दै एमाले उम्मेदवारले घण्टीमा छाप लगाए। गठबन्धनमा माओवादी केन्द्रको भोट पनि आएन। माओवादीका साथीहरूबीचमा भोट नदिने सहमति भएको थियो। उनीहरूले पनि घण्टीमा भोट हाले। कांग्रेसको मत पनि आफ्नो हुन सकेन। यसरी एक सज्जन कांग्रेसले निर्वाचन हारे।
एक वर्ष पनि नभएको र कांग्रेसबाटै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका स्वर्णिम वाग्लेसँग भट्टराई १० हजार बढी मतान्तरले पराजित भए। भट्टराईको पराजयसँगै प्रतिनिधिसभामा कांग्रेस ८८ सिटमा झरेको छ। यसलाई कांग्रेसले सामान्य रूपमा लिनु हुँदैन। नत्र आगामी निर्वाचनमा कांग्रेस शिला खोज्नुपर्छ।
हुन त यो निर्वाचनले तत्काल कुनै परिवर्तन ल्याउने छैन। तर अहिले जुन परिस्थिति र स्थानमा कांग्रेसले उपनिर्वाचन हार व्यहोरेको छ, राष्ट्रिय राजनीतिमा यसको सन्देश साँच्चै अर्थपूर्ण छ।
कांग्रेस नेतृत्वले यस्तो नतिजा आउन नदिन प्रयास गरेका हो। तर ढंग नपुग्दा र कांग्रेस एवम् गठबन्धनसँगको रुष्टताको सिकार भट्टराई भएका हुन्। शीर्ष भनिने नेताहरू जितेर आएमा मन्त्री बनाइदिने सस्ता कुरा गरेर हिँडे। अहिलेको जमातको कुरा सुन्न चाहेनन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा २० चैतमा मनोनयन दर्ता भएदेखि नै भट्टराईलाई जिताउन लागिपरेका हुन्। तर उनीहरूको प्रयास पनि फिका ठहरियो।
२० वर्षदेखि तनहुँबासीका लागि काम गरेका नेता पछि परे। सामाजिक सञ्जालमा झुल्केका अर्थशास्त्री निर्वाचित भए। सामाजिक सञ्जालको राम्रो प्रभाव र आमनागरिकले चाहेको नयाँपनले वाग्लेका अगाडि भट्टराईको केही लागेन।
उसो त नेपाली कांग्रेस नेतृत्वको विकृति, कमजोरी र गलत क्रियाकलापको अचानोमा गोविन्द भट्टराई परेका हुन्। व्यक्तिगत रूपमा सबैले असल इमानदार पात्र भनेर भट्टराईप्रति सदभाव नदेखाएका होइनन्।
गठबन्धन र नेपाली कांग्रेसको नेतृत्वको निर्णयप्रति सामाजिक सञ्जालमा निकै असन्तुष्टि पोखिएको थियो। सोही असन्तुष्टिको सिकार भट्टराई भएका हुन्।
आमनागरिकले पनि विकल्प र नयाँपन खोजिरहेका थिए। यसै बेला विदेशमा काम गरेर वाक्पटुता कमाएका स्वर्णिम प्रतिस्पर्धामा उत्रिए। उनले सबैलाई जुरुक्क पार्न सके अनि परिणाम आफ्नो पक्षमा पारे।
यस्तो बेलामा कांग्रेसका सक्रिय सदस्यले समेत पार्टीलाई विकल्प मानेनन्। अर्कै दल र उम्मेदवारलाई भोट दिए। प्रारम्भिक अनुमानअनुसार कांग्रेसको २५ सयदेखि तीन हजार मत क्षय भएको छ। अन्य मत माओवादी र एमालेबाट लिएर स्वर्णिमको संसद् यात्रा तय भएको हो। क
कांग्रेसले कांग्रेसलाई मत नदिनु गम्भीर विषय हो भने गठबन्धनमा बसेर असहयोग गर्नु घात हो। यस विषयमा नेतृत्वले ध्यान दिन आवश्यक छ। यस्तै चुनावमा तालमेल गर्नु अर्को कमजोरी हो।
अब पनि कांग्रेस नसुध्रिने हो भने यस्ता हार धेरै व्यहोर्नुपर्नेछ। त्यसैले कांग्रेसभित्र आमूल परिवर्तन आवश्यक छ। कांग्रेस नेतृत्वले म असफल भएँ भनेर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ढिलाइ गर्नु हुँदैन। युवा नेताहरू पनि चुप लागेर बस्ने होइन।
उपननिर्वाचन हार्नु भनेको नेपाली कांगे्रेस नेतृत्वको असफलता हो। नेतृत्वले आफूलाई केन्द्रमा राख्दा पार्टीबाट जनता टाढा भए। पार्टीलाई छिन्नभिन्न पारेर आफ्नो स्वार्थमा खेल्दा परिणाम राम्रो आएन। नयाँलाई जोगाउन र युवालाई आकर्षण गर्न नसक्ने हो भने कांग्रेस खिया लागेको टिनको घर जस्तो हुनेछ।
अबको नेतृत्वको अनुमान पनि असफल भइसकेको छ। नेतृत्वमा जबरजस्त परिवर्तन आवश्यक छ। असफल भइसकेको कांग्रेस नेतृत्व किनारामा बसेर अघि बढ्नु हुँदैन। जबरजस्त काम गरेर आफूलाई सच्याउन सक्यो र छवि राम्रो देखियो भने अर्कै किसिमको नतिजा पाउन सक्छ।
नेपाली कांग्रेसमा यति बेला न नेतृत्व न सिद्धान्त छ। कांग्रेसले जनमत छुन सक्ने खालको परिवर्तन गर्न सकेन भने ‘स्टनबाजी’ गर्नेहरू अगाडि बढ्छन्। सिद्धान्त, नीति र गन्तव्यविहीन शक्ति अगाडि बढ्यो भने लोकतन्त्रको भविष्य अन्योलपूर्ण हुनेछ।
कांग्रेसको सही नेतृत्व गर्ने दायित्व सभापतिको हो भने नीति कार्यान्वयन गर्ने दायित्व महामन्त्रीको हो। अब परम्परागत दलहरूको संगठनात्मक परिकल्पना बदल्नुपर्छ। (कुराकानीमा आधारित)