इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

हिमाल प्रेस १४ वैशाख २०८० ११:२६
8
SHARES
इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

चितवन- चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ।

ढुंगा र माटोले बनेको पुरानो मन्दिर जिर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो। विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए।

उनले अब मन्दिरमा बत्ती जडान, ढुंगा बिच्छाउने र पर्खाल लगाउने केही काम बाँकी रहेको बताए। ‘गाउँपालिका र प्रदेश सरकारको झन्डै रु दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ’, उनले भने, ‘चारपाँच लाख चन्दादाताबाट पनि बटुलिएको छ।’

मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेको उनको भनाइ छ। यस वर्ष प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख र गाउँपालिकाले विनियोजन गरेको आठ लाखको काम भइरहेको बोहोराले बताए।

पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र छ सय मिटर हिँडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ। मन्दिर निर्माण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले बर्खाको समयमा गाडी नचल्ने र बोकेर सामान लैजानुपर्दा ढुवानी महँगो परेको बताए।

उनले एक महिनाभित्र मन्दिर पुनःनिर्माणको काम सकिने बताए। कोरोना र आर्थिक समस्याले मन्दिर निर्माणमा ढिलाइ भएको भनाइ छ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गरेको बताए। उनले मन्दिर नजिकै पाहुना घरसमेत निर्माण भइरहेको जनाउँदै मन्दिरमा लिफ्टबाट खानेपानीको व्यवस्था गरिएको बताए।

‘जमिन संरक्षण र प्रवेशद्वारा निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ’, उनले भने। इच्छाकामना गाउँपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको भन्दै उनले प्रचारप्रसारलाई बढाइने बताए। उनले मन्दिरको सरसफाइका लागि पनि कर्मचारी नियुक्ति गर्ने तयारी भइरहेको जानकारी दिए।

प्रकाशित: १४ वैशाख २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast