इटहरी-धरान सीमा विवाद : अराजकता नमच्चाउन मेयर साम्पाङको चेतावनी

हिमाल प्रेस १३ वैशाख २०८० १९:१९
6
SHARES
इटहरी-धरान सीमा विवाद : अराजकता नमच्चाउन मेयर साम्पाङको चेतावनी

इटहरी- इटहरी र धरान उपमहानगरपालिकाबीचको सीमा विवादमा धरानका मेयर हर्क साम्पाङले अराजकता नमच्चाउन चेतावनी दिएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत कारबाहीको उजुरी गर्ने चेतावनी दिएका साम्पाङले बुधबार पत्रकार सम्मेलन गरेरै अराजकता नमच्चाउन चेतावनी दिएका हुन्।

तोकिएको सिमाना भत्काउने र अराजकता मच्चाउने छुट कसैलाई पनि नभएको उनले बताएका हुन्। ‘सरकारले लगाएको आधिकारिक साँध सीमाना भत्काउने र अराजकता मच्चाउने छुट कसैलाई छैन’ मेयर साम्पाङले भने।

बुधबार धरानमा पत्रकार सम्मेलनमार्फत उनले सीमा विवादको विषयमा अराजकता मच्चाएको भन्दै अराजकता मच्चाउने छुट कसैलाई पनि नभएको जिकिर गरे। गत आइतबार साँझ इटहरी उपमहानगरपालिका–२० स्थित तरहराको पानीपियामा धरान उपमहानगरले स्वागत बोर्ड राखेपछि दुई उपमहानगरबीच विवाद चुलिएको छ।

इटहरी क्षेत्रमा आफ्नो सीमाना परेको दाबी गर्दैै धरानका मेयर साम्पाङले सिमानामा बोर्ड राख्न निर्देशन दिएका थिए। उनको निर्देशनअनुसार धरान नगर प्रहरी र कर्मचारीहरूले बोर्ड राखे।

त्यसपछि सोही राति युवा संघ इटहरीले उक्त बोर्ड उखेलेर फालेको थियो। त्यसपछि बोर्ड फाल्नेलाई कारबाही गर्न प्रहरीमा उजुरी दिर्ने अभिव्यक्ति मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत दिएका थिए। बुधबारको पत्रकार सम्मेलनमा उनले आफूले सीमा दाबी गर्नु आफ्नो अधिकार रहेको जिकिर गरे।

संघीय सरकार र नापी विभागद्वारा जारी नक्साका आधारमा पानीपिया क्षेत्रमा आफूले सीमा प्रारम्भको बोर्ड लगाएको मेयर साम्पाङको दाबी छ। ‘आधिकारिक साँध सीमानाहरू भत्काउने र अराजकता मच्चाउन हुँदैन,’ साम्पाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कसुरदार पक्षलाई कानुनी कारबाहीको माग गर्दछु।’

बोर्ड पहिलेकै अवस्थामा जस्ताकोत्यस्तै राखिदिन सम्बन्धित पालिका तथा निकायहरूलाई उनले आग्रह पनि गरेका छन्। आधिकारिक नक्सामा धरानको सीमा पानीपिया नै रहेको धरान उपमहानगरपालिकाका योजना तथा इन्जिनियरिङ महाशाखा प्रमुख सुरज श्रेष्ठले बताए।

इटहरी उपमहानगरपालिकाले सीमा विवाद झिकेर द्वन्द्व फैलाउन नखोज्न चेतावनी दिएको छ। इटहरी उपमहानगरले संवादमा आउन आग्रह गर्दै संवादमार्फत विवाद टुङ्ग्याउन सकिने बताएको छ।

प्रकाशित: १३ वैशाख २०८० १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast