उद्योगमा देखिएको विद्युत समस्या दुई साताभित्रै समाधान हुन्छ : प्राधिकरण

हिमाल प्रेस १० वैशाख २०८० १८:१९
2
SHARE
उद्योगमा देखिएको विद्युत समस्या दुई साताभित्रै समाधान हुन्छ : प्राधिकरण

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले सुनसरी मोरङ औद्योगिक करिडोरलगायत क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको बताएको छ। उद्योग व्यवसायमा विद्युत् आपूर्ति बन्द भएर उद्योगी व्यवसायीले सास्ती भोगिरहेको भन्दै आन्दोलन थालेका छन्। सोही सन्दर्भमा आइतबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले दुई हप्ताभित्रै विद्युत् समस्या समाधान हुने बताएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पूर्वीक्षेत्रमा देखिएको विद्युत् समस्या १० देखि १५ दिनमा समाधान हुने बताए। केही प्राविधिक कारणले विद्युत् आपूर्ति नभएको भन्दै प्राधिकरणको समस्या बुझिदिन उद्योगी व्यवसायीहरूसँग आग्रह गरे।

यस वर्ष हिउँ-पानी नपरेर सुख्खायाम लम्बिएका कारण नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। धनुषाको ढल्केबर सबस्टेसनबाट थप विद्युत् पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रुपनी सबस्टेसनको बे्रकर चुँडिएको र कटैया–कुशहवा १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् कटौती भएका कारण समस्या आएको घिसिङले बताए।

घिसिङकाअनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत् आयोजनाहरूको जडित क्षमता करिब दुई सय मेगावाट भए पनि हिउँ÷पानी नपर्दा अहिले करिब ३० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको काबेली करिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ। तर, एक दुई दिनदेखि ती आयोजनाहरूबाट विद्युत् उत्पादन बढ्दै गएकोले उद्योगहरूलाई नियमित विद्युत् आपूर्तिमा समस्या नहुने घिसिङको दाबी थियो।

‘सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरूलाई विद्युत् काटेका छैनौँ, लाइटिङ लोडमा मात्र चलाउनु भनेका थियौँ, काबेली करिडोरमा उत्पादन बढ्नासाथ उद्योगहरूलाई विद्युत् आपूर्ति दिन सुरु गरिसकेका छौँ,’ उनले भने, ‘अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या हैन।’

१०-१५ दिनमा प्रि-मनसुन सुरु हुने अनुमान गरिएकोले त्यसपछि खोलानालामा पानीको बहाव बढ्ने र विद्युत् उत्पादन बढ्ने उनको भनाइ थियो।

प्रकाशित: १० वैशाख २०८० १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =