महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघ नियन्त्रणमा लिन विशेषज्ञ टोली परिचालन

हिमाल प्रेस ९ वैशाख २०८० ९:११ | Saturday, April 22, 2023
महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघ नियन्त्रणमा लिन विशेषज्ञ टोली परिचालन प्रतिनिधिमूलक तस्बिर।

कञ्चनपुर- बेलौरी नगरपालिका-८ पचुँइमा महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञसहितको टोली परिचालन भएको छ।

 निकुञ्जका डा दिनेश देवकोटासहितको पाँच जनाको टोली बाघलाई डार्ट(बेहोस) गर्नका लागि परिचालन भएको छ।

बर्दिया निकुञ्जको टोलीसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सवडिभिजन वन कार्यालय कुण्डाको वन सुरक्षाकर्मीको टोली बाघ नियन्त्रण गर्नका लागि शुक्रबारदेखि नै परिचालन भएको छ।

‘शुक्रबार नै बाघलाई नियन्त्रणमा लिनका लागि धेरै प्रयास गर्‍यौँ, राति भइसकेकाले डार्टन गर्न सकिएन’, सवडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले भने, ‘अग्लो घाँस हुँदा बाघलाई नियन्त्रमा लिन गाह्रो भएको छ’, दुई दुई मिटरको दूरीमा घेरा हालेर बाघलाई नियन्त्रणमा लिने प्रयास गर्दा पनि सफल हुन नसकेको उहाँले बताए।

उनका अनुसार बाघ अहिले पनि सोही क्षेत्रमा देखिए पनि बेपत्ता महिला भने फेला पर्न सकेकि छैनन्। बाघ नियन्त्रण गर्नका लागि पुनः टोली केही छिनमै परिचालन हुन लागेको प्रमुख यादवले जानकारी गराए।

शुक्रबार बिहान ९ बजे खेतमा घाँस काटदै गरेकी स्थानीय अन्दाजी ४५ वर्षीया गंगादेवी चन्दलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको थियो। बाघले महिलालाई आक्रमण गरी लगेपछि खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानिय बासिन्दाले खोजीको  तीव्र बनाए पनि महिलालाई अझै पनि फेला पार्न सकेका छैनन्।

भारतीय दुधुवा नेशनल पार्कबाट बाघ नेपाली बस्तीमा पसेको बताइएको छ । सीमा क्षेत्रमा दिउँसै ओहरदोहर गर्दै आएको बाघले महिलालाई आक्रमण गरी बेपत्ता बनाए पछि यस क्षेत्रको जनजीवन त्रसित भएको छ ।

प्रकाशित: ९ वैशाख २०८० ९:११ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast