यसरी स्थापना भएको थियो नेपालमा कम्युनिस्ट पार्टी

हिमाल प्रेस ९ वैशाख २०८० ८:०२
यसरी स्थापना भएको थियो नेपालमा कम्युनिस्ट पार्टी

काठमाडौँ- वैशाख ९ नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवस। सन् १९४९ मा आजकै दिन अर्थात् २२ अप्रिलमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। आज यस अवसरमा दलहरूले विभिन्न कार्यक्रम गर्दैछन्। पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक हुन्।

पार्टी घोषणापत्र भने झन्डै पाँच महिनापछि अर्थात् १५ सेप्टेम्बर १९४९ मा मात्र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको नामबाट विधिवत् जारी भएको थियो। त्यसपछि पार्टीको केन्द्रीय समिति विस्तारको बाटो खुलेको पाइन्छ।

विस्तारित केन्द्रीय समितिमा संस्थापक महासचिव पुष्पलालसहित मनमोहन अधिकारी, तुलसीलाल आमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भारतीय कम्युनिस्ट पार्टीका प्रतिनिधि आयोध्याप्रसाद सिंह थिए।

नेपाल कम्युनिस्ट पार्टीमा असन्तुष्टि र फुटको बीउ पनि  समिति निर्माणबाट भएको पाइन्छ। यो समितिमा स्थापनाकालका चार जना नेताको नाम नै छैन। त्यसयता फुट र जुटको शृङ्खला कम्युनिस्टहरूका लागि स्वाभाविक प्रक्रियाजस्तै बन्ने गरेको देखिन्छ।

स्थापनाको ७४ वर्षमा नेपाल कम्युनिस्ट पार्टी दर्जनौँ टुक्रामा विभाजित भइसकेको छ। स्थापना दिवससमेत एकै मञ्चबाट मनाउन नसक्ने गरी उनीहरू टाढिएका छन्। र, एकअर्काप्रति आरोप/प्रत्यारोप गरिरहेका छन्। सत्ता केन्द्रमा हुँदा कुनै कालखण्डमा मिल्ने र सत्ताकै कारण फुट्ने कम्युनिस्टहरूको विशेषताजस्तै बनेको छ।

स्थापनासँगै कलह

कलकत्तामा २००८ असोजमा भएको पहिलो सम्मेलनले पुष्पलाललाई पुनः महासचिव छानेको थियो। पाँच जनाको राजनीतिक समितिमा पुष्पलालका अतिरिक्त मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय र भाइसाहेब थिए। तर, पछि शम्भुराम श्रेष्ठलाई पनि थपिएको थियो।

त्यसको केही समयपछि २००८ सालमा नै मनमोहनले पुष्पलाललाई हटाइ आफैँ महासचिव भए। उनले राजनीतिक समितिको बहुमतमा पुष्पलाललाई अपमानजनक ढंगले हटाएका थिए। महासचिवबाट हटाएपछि उनलाई गन्डक प्रान्तको इन्चार्ज बनाइयो। आफ्नो बहिर्गमनबारे पुष्पलालले उनको पुस्तक ‘नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’मा कुनै पनि कुरा उल्लेख गरेका छैनन्।

पुष्पलाल आफ्नो गणतन्त्रको लाइनमा अडिग थिए। तर, संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था मान्ने मनमोहनको लाइनको केन्द्रीय समितिमा बहुमत भएपछि २०१० सालको पहिलो अधिवेशनमा पनि उनी नै महासचिव चुनिएको पुराना कम्युनिष्ट नेताहरू बताउँछन्। यसरी मनमोहन अधिवेशनबाट निर्वाचित पहिलो महासचिव भए।

तर, डा सुरेन्द्र केसीले भने भारतीय कम्युनिष्ट पार्टीमा आएको नेतृत्व परिवर्तको प्रभाव नेपालको कम्युनिष्ट पार्टीमा पनि परेको उल्लेख गरेका छन्। किनभने स्थापनाकालमा भारतीय कम्युनिस्ट पार्टीका प्रतिनिधि अयोध्या सिंह केन्द्रीय समितिमा नै थिए।

स्थापनाकालबाटै कम्युनिस्टमा अन्तद्वन्द्व र अन्तरकलह फैलिएको देखिन्छ। टुटफुटकै कारण अहिले दर्जनभन्दा बढी पार्टीमा विभाजित छन्।

पहिलोपटक २०१२ सालमा रौतहट र वीरगंज कमिटीले केन्द्रसँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए।

त्यसपछि २०१३ सालमा उत्तर गन्डक प्रान्तीय कमिटी र पूर्व कोशी प्रान्तीय कमिटी, चैनपुर र धनकुटा जिल्लाले पनि केन्द्रसँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए। तर, केही कार्यकर्तालाई कारबाही गरेर पुनः जिल्ला पार्टी कमिटी व्युँताइएको थियो।

पार्टी अनुशासनको विषयमा केही केन्द्रीय सदस्यलाई कारबाही गर्ने र फुकवा गर्ने क्रम चलिरह्यो। २०१६ पुसमा काठमाडौँमा भएको केन्द्रिय समिति बैठकमा सबै नेता आलोचित भए।

पुष्पलालमाथि ‘व्यक्तिवादी’ र ‘नेतृत्वको महत्त्वाकांक्षी’ भएको आरोप लगाइयो। तुलसीलालमाथि ‘संसदीय मोर्चामा सक्रिय भूमिका खेल्न नसकेको’, केशरजंग रायमाझीलाई ‘राजावादी भएको’, डीपी अधिकारीलाई ‘कांग्रेसपन्थी’ को आरोप लाग्यो।

नेकपाभित्र खास सैद्धान्तिक मुद्दा संसदीय धार कि गणतन्त्र भन्नेमा बहस जारी नै रह्यो। १ पुस २०१७ मा राजा महेन्द्रले सत्ता हातमा लिएपछि उक्त कदमको महासचिव केशरजंग रायमाझीले समर्थन गरे। त्यसपछि भने पार्टीभित्रको द्वन्द्व सतहमा आयो। त्यतिबेलासम्म भित्रभित्रै चलेको नेकपाको किचलो पहिलोपटक बाहिर प्रस्फुटन भयो।

महेन्द्रको कदमपछि पुष्पलाल ‘संयुक्त संघर्ष’को लाइनमा आए। उता केशरजंग भने दरबारको समर्थक भए। उनले केन्द्रीय समितिले तोकिसकेको पार्टीको तेस्रो अधिवेशन गर्न चासो नै दिएनन्।

पार्टीलाई स्पष्ट दिशा दिन २०१७ फागुनमा भारतको दरभंगामा अल्पमत पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलायो। बैठकले पाँचै जोनका संयोजक सम्मिलित ‘अन्तर–जोन सामञ्जस्य समिति’ बनायो।

यो समितिले २०१९ सालमा ‘तलबाट बोलाइएको अधिवेशन’ आयोजना गर्‍यो। अधिवेशनले बहुमत पक्षका महासचिव केशरजंग रायमाझीलाई तीन वर्ष, डीपी अधिकारीलाई दुई वर्ष र शम्भुराम श्रेष्ठ तथा पीबी मल्ल लगायतलाई एक वर्षका लागि पार्टीबाट निस्कासित गर्‍यो।

उता बहुमत पक्षले अल्पमत पक्षको अधिवेशन हुनुअघि नै पुष्पलाल, तुल्सीलाल अमात्य र हिक्मतसिंह भण्डारीलाई पार्टीबाट निस्कासन गरिसकेको थियो। अल्पमत पक्षले तुलसीलाललाई महासचिव छान्यो। बहुमत पक्षको महासचिवमा केशरजंग रायमाझी यथावत् थिए।

यसरी स्थापनाको १३ वर्षपछि नेकपा पहिलोपटक फुट्यो। र, फुटको अनगिन्ती शृंखला  सुरु भयो। यही श्रृंखलाको पछिल्लो क्रममा अहिलेको नेकपा हुँदै एमाले र माओवादीमा आइपुगेको छ। अन्य कम्युनिस्ट पनि निरन्तर फुटिरहेका छन्।

प्रकाशित: ९ वैशाख २०८० ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast