दुई शक्तिशाली देशका राजदूतलाई यसरी मिलाइयो बस्ने व्यवस्था

सन्तोष खडेरी ९ वैशाख २०८० ८:४५
1.5k
SHARES
दुई शक्तिशाली देशका राजदूतलाई यसरी मिलाइयो बस्ने व्यवस्था अमेरिकी राजदूत एल्सवर्थ बंकर र लाहोरबाट प्रकाशित ‘दी सिभिल एन्ड मिलिटरी गजेट’को २२ मार्च १९५७ को अंकमा छापिएको रुसी राजदूतले ओहदाको प्रमाणपत्र बुझाएको तस्बिर।

सन् १९५७ को मार्चमा ओहदाको प्रमाणपत्र बुझाउन एकैपटक तीन देशका राजदूत नेपाल आएका थिए। त्यतिबेला नेपालमा ब्रिटेन र भारतको मात्र आवासीय दूतावास थियो। नेपालको कूटनीतिक सम्बन्ध भने यी दुई मुलुकसहित अमेरिका, फ्रान्स, चीन, सोभियत रुस, जापान र स्विट्जरल्यान्डसँग कायम भइसकेको थियो। ब्रिटेन र भारतबाहेकका ६ वटा मुलुकले दिल्लीबाट नै नेपाल हेर्थे। दिल्लीका लागि खटिएका सम्बन्धित मुलुकका राजदूतहरू नेपालमा समेत गैरआवासीय राजदूतको जिम्मेवारीमा हुन्थे। ती राजदूतहरू आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्न र अन्य कामकाजमा नेपाल आउने चलन थियो। यसै क्रममा तीन अलगअलग मुलुकका राजदूतहरू एकै समयमा नेपाल आएका थिए। त्यसरी नेपाल आउनेमा अमेरिकी राजदूत, रुसी राजदूत र स्विस राजदूत थिए।

दोस्रो विश्वयुद्ध सकिए पनि विचारधाराका हिसाबले विश्व दुई अलगअलग ध्रुवमा विभाजित थियो। एउटा गुटको नेतृत्व अमेरिकाले र अर्को गुटको नेतृत्व रुसले गर्दथ्यो। तेस्रो विश्वका मुलुक भने असंलग्न अभियानमा संलग्न हुँदै थिए। त्यसमा भारत, चीनजस्ता छिमेकी पनि थिए। नेपालसमेत असंलग्न अभियानमै थियो। रुस र अमेरिकी प्रभुत्वको टकराव चलिरहेको थियो। यी दुई शक्तिशाली गुटको तनावलाई शीतयुद्ध भनेर चिनिन्छ।

त्यस्तै अवस्थामा अमेरिकी राजदूत र रुसी राजदूत एकैपटक नेपाल आएका थिए। पद्मशमशेरको पालामा सन् १९४७ मा अमेरिकासँग नेपालको सम्बन्ध स्थापना भएको थियो। प्रधानमन्त्री टंकप्रसाद आचार्यको कार्यकालमा सन् १९५६ जुलाईमा नेपाल र सोभियत संघबीच दौत्य सम्बन्ध स्थापना भएको हो। सन् १९५६ को नोभेम्बरमा नेपाल र स्विट्जरल्यान्डबीच दौत्य सम्बन्ध स्थापना भएको थियो। नेपाल र अमेरिकाले सन् १९४८ देखि परस्परमा गैरआवासीय राजदूत नियुक्त गरेका थिए।

सन् १९५६ जुलाईमा नेपाल र सोभियत रुसबीच दौत्य सम्बन्ध स्थापना भए पनि सन् १९५७ फेब्रुअरीमा दुवै मुलुकले परस्परमा राजदूत आदानप्रदान गर्ने सहमति गरेका थिए। त्यसअनुरूप सन् १९५७ फेब्रुअरीमा नेपालले बेलायतका लागि राजदूत रहेका प्रोफेसर रामप्रसाद मानन्धरलाई रुसका लागि राजदूतमा नियुक्त गरेको थियो। रुसले भारतका लागि राजदूत रहेका मिखैल अलेक्ससभिच मेन्सिकोभलाई नेपालका लागि राजदूतमा नियुक्त गरेको थियो। (दी इन्डियन एक्स्प्रेस, ५ फेब्रुअरी १९५७)

मेन्सिकोभ नेपालका लागि पहिलो रुसी राजदूत थिए। भारतका लागि राजदूत रहेका क्लिमेन्ट रेजोनिको पनि नेपालमा ओहदाको प्रमाणपत्र बुझाउन आउने पहिलो स्विस राजदूत हुन्।

अमेरिका र रुससँग नेपालको सम्बन्ध राजदूत स्तरमा थियो। तर स्विट्जरल्यान्डसँगको सम्बन्ध भने मिनिस्टर तहको मात्र थियो। अमेरिकी राजदूत जोन कपर आफ्नो कार्यालय सकेर फर्किएपछि १९५७ मा एल्सवर्थ बंकर नियुक्त भएका थिए। त्यतिबेला नेपाल आउने अमेरिकी राजदूत उनै बंकर हुन्।

अमेरिकी राजदूत, स्विस मिनिस्टर र रुसी राजदूतले ओहदाको प्रमाणपत्र बुझाएको बारे भारतीय अखबार ‘दी इन्डियन एक्स्प्रेस’ को ११ मार्च १९५७ को अंकमा प्रकाशित समाचार।

नेपाल आएका ती सबै गैरआवासीय राजदूत थिए। नेपालमा उनीहरूको कुनै कार्यालय थिएन। न त काठमाडौँमा आजका जस्ता सुविधासम्पन्न तारे होटल थिए। त्यसैले उनीहरूलाई काठमाडौँमा बस्ने व्यवस्था सरकारले नै गरिदिनुपर्दथ्यो। सरकारले हालको राष्ट्रपति भवन शीतलनिवासलाई सरकारी गेस्ट हाउसका रूपमा प्रयोग गरेको थियो। नेपाल आउने विदेशी अतिथिहरूलाई शीतलनिवासमा बसोबासको बन्दोबस्त मिलाउने गरिन्थ्यो। शीतलनिवास पनि राणा जनरल कृष्णशमशेरले गेस्ट हाउसका रूपमा प्रयोग गर्ने गरी सरकारलाई उपहारस्वरूप प्रदान गरेका थिए। शीतलनिवासभन्दा पहिले त्रिपुरेश्वरमा सरकारी गेस्ट हाउस थियो। त्यसअघि नेपाल आउने विदेशी पाहुनालाई त्यहीँ बसोबासको व्यवस्था गरिन्थ्यो।

राजदूत तीन जना तर सरकारी गेस्ट हाउस भने शीतलनिवास मात्र थियो। त्यसैले बसोबासको बन्दोबस्त गर्न सरकारलाई साँच्चै नै कठिन भयो होला। स्विस मिनिस्टरलाई कुनै एउटासँग व्यवस्थापन गर्न सकिए पनि अमेरिकी र रुसी राजदूतका लागि भने गाह्रो थियो। उनीहरूलाई अलगअलग तर समान व्यवहार गरेको देखिने गरी बसोबासको व्यवस्थापन गर्नुपर्ने थियो। पहिले अमेरिकी राजदूत बंकर आएकाले उनका लागि शीतलनिवासमा व्यवस्था गरिएको थियो। स्विस मिनिस्टरलाई पनि बंकरसँगै राखियो। पछि आएका रुसी राजदूतका लागि अर्को भव्य दरबारमा बसोबासको व्यवस्था गरेर सरकारले आतिथ्य प्रदान गरेको थियो।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको जेठी रानी लोकभक्तदेवीपट्टिका जेठा छोरा एवं अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको दरबार महाराजगन्जमा थियो। उनको दरबारको नाम लक्ष्मीनिवास हो। शीतलनिवासका कृष्णशमशेर पनि चन्द्रशमशेर र लोकभक्तकै कान्छा छोरा थिए।

यसरी नेपालले त्यतिबेला अमेरिकी र रुसी राजदूतका लागि एउटै राणा प्रधानमन्त्रीका दुई भाइको दरबार प्रयोग गरेको थियो। उनीहरुलाई अलगअलग भव्य दरबारको व्यवस्था गरिदिनु रोचक पनि छ। त्यसो किन गरियो भनेर विश्लेषण गर्दा ठ्याक्कै यकिनका साथ यही कारण भन्न सकिँदैन। संसारमा आआफ्नो प्रभुत्व स्थापना गर्ने गरी आपसी टकरावमा रहेका दुई मुलुकका राजदूतलाई सँगै नराखौँ भनेर अलगअलग राखिएको हो कि?

लक्ष्मी निवास र शीतल निवास। तस्बिर स्रोत : मदन पुरस्कार पुस्तकालय र राष्ट्रपति कार्यालय

अमेरिकी र रुसी राजदूतलाई बस्न अलगअलग राणाकालीन दरबारको बन्दोबस्त गरिदिएको विषयलाई नेपालस्थित भारतीय दूतावासले आफ्नो सरकारलाई पठाएको सन् १९५७ को वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।

सन् १९५१ नोभेम्बरमा अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले राणा कांग्रेस संयुक्त मन्त्रिमण्डलबाट राजीनामा गरी भारततर्फ लागे। उनी भारत प्रस्थान गरेको केही समयपछि दरबार नेपाल सरकार मातहत आयो। पछि लक्ष्मीनिवासलाई नेपाली सेनाले प्रयोग गर्‍यो।

राजदूतको ओहदाको प्रमाणपत्र बुझ्ने कार्यक्रम पनि बडो भव्य र रोचक हुन्थ्यो। हनुमानढोका राजदरबार परिसरमा रहेको युरोपेली शैलीमा निर्मित भव्य गद्दी बैठकमा उक्त कार्यक्रम हुने गर्दथ्यो। राजा पनि नारायणहिटी राजदरबारबाट अगाडिपछाडि रिसल्लासहित बग्गीमा चढेर गद्दी बैठकमा पुग्थे। राजदूत पनि उनीहरू बसेको ठाउँबाट बग्गीमै चढेर गद्दी बैठकसम्म आउने गर्दथे।

सोही ८ मार्चका दिन अमेरिकी राजदूत र स्विस मिनिस्टरले अलगअलग समारोहका बीच राजा महेन्द्रसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका थिए। पहिला अमेरिकी राजदूत बंकरले ओहदाको प्रमाणपत्र पेस गरे। केही समयपछि स्विस मिनिस्टर क्लिमेन्ट रेजोनिकोले गद्दी बैठकमा राजा महेन्द्रसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका थिए। ती दुवै राजदूतलाई शीतलनिवासबाट गद्दी बैठकसम्म चौकडी बग्गी चढाएर लगिएको थियो। बेलुकी नेपालका परराष्ट्र मन्त्री चूडाप्रसाद शर्माले ती राजदूतहरूको सम्मानमा अलगअलग रात्रिभोज आयोजना गरेका थिए। ८ बजे स्विस मिनिस्टरको सम्मानमा र ८ः३० बजे अमेरिकी राजदूतको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो।

१० मार्चका दिन नेपालका लागि नियुक्त प्रथम रुसी राजदूत मिखैल अलेक्ससबिच मेन्सिकोभले हनुमानढोका गद्दी बैठकमा राजा महेन्द्र समक्ष ओहदाको प्रमाणपत्र बुझाए। उनलाई लक्ष्मी निवासदेखि हनुमानढोका गद्दी बैठकसम्म चौकडी बग्गीमा चढाएर पुर्याइएको थियो। बेलुकी रुसी राजदूतको सम्मानमा परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माले रात्रिभोज आयोजना गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =