दुई कीर्तिमानबीच नेपालको जित

हिमाल प्रेस ८ वैशाख २०८० १७:३६
12
SHARES
दुई कीर्तिमानबीच नेपालको जित

काठमाडौँ- दुई कीर्तिमान बनेको खेलमा नेपालले ओमानमाथि ८४ रनको जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले टस हारेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ३१० रनको योगफल तयार पारेको थियो। अन्तर्राष्ट्रिय एक दिवसीयमा नेपालले बनाएको यो सर्वाधिक ठूलो योगफल थियो।

प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको ओमानले ४३.६ ओभरमा नौ विकेटको क्षतिमा २२६ रन बनाएको थियो। अकिब इल्यास घाइते भएका कारण ब्याटिङमा उत्रन नसकेपछि ओमानको हार निश्चित भयो।

यो जितसँगै नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश सम्भावनालाई बलियो बनाएको छ। समूह ‘ए’ मा लगातार दोस्रो जित आत्मसात् गरेको नेपाल चार अंकसहित शीर्षस्थानमा छ। नेपालले पहिलो खेलमा मलेसियालाई पन्छाएको थियो। नेपालले अब समूह चरणमा साउदी अरब र कतारसँग खेल्न बाँकी छ।

कीर्तिपुरको मैदानमा बनेको अर्को कीर्तिमान सन्दीप लामिछानेको नाममा रह्यो। उनले सर्वाधिक कम खेलमा एक सय विकेट पूरा गरे। उनले ४२ औँ एक दिवसीय खेलमा यो कीर्तिमान राख्न सकेका हुन्। यसअघि सबैभन्दा कम खेलमा एक सय विकेट लिने खेलाडी अफगानिस्तानका रशिद खान थिए। उनले ४४ खेलेपछि यस्तो कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका थिए।

संयोगवश नेपालले शुक्रबार ५० औँ एकदिवसीय खेल खेलेको हो। मार्च, २०१८ मा एकदिवसीय मान्यता पाएको नेपालले त्यही वर्ष अगस्टमा नेदरल्यान्ड्ससँग खेल्दै अन्तर्राष्ट्रिय एकदिवसीयमा डेब्यु गरेको थियो। अगस्ट १ मा भएको त्यो खेलमा नेपाल डच टिमसँग ५५ रनले पराजित भएको थियो। दुई दिनपछि दोस्रो एकदिवसीय खेलमा भने नेपाल एक रनले विजयी बन्न सक्यो।

कुशल मल्लको ब्याटिङ कौशल

नेपालको जितमा कुशल मल्लको ब्याटिङ महत्त्वपूर्ण साबित भयो। लरबराएको नेपाली इनिङ्स उकासेका उनले १०८ रन बटुले। उनले एकविदसीय करियरमा पहिलो पटक शतक प्रहार गरेका हुन्। उनले ६४ बल सामना गर्दा १० छक्का र नौ चौका प्रहार गरे।

कुशलले आरिफ शेखसँग ७५ र सोमपाल कामीसँग ४९ रनको साझेदारी गरे। आरिफ ४३ बलमा २९ रन बनाएर बाहिरिएका थिए। अविजित रहेका सोमपालले भने अर्धशतक बनाए। उनले ४८ बलमा नौ चौकाको सहयोगमा ६३ रन जोड्न सके।

त्यसअघि नेपालले खराब सुरुवात गरेको थियो। २८ औँ बलमा पहिलो रन बटुलेको नेपालले त्यसबेलासम्म दुई ओपनर गुमाइसकेको थियो। कुशल भुर्तेललाई बिलाल खानले एलबीडब्लू धरापमा पारे भने आशिफ शेख कलिमुल्लाहको सिकार बने।

त्यसपछि भीम शार्की र रोहित पौडेलले नेपालको इनिङ्स अघि बढाए। यी दुईले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। भीमले ५६ बलमा ३३ र कप्तान रोहितले ३४ बलमा २३ रनको योगदान गरे। घरेलु टिमका लागि आरिफ शेख र करण केसीले २९-२९ रनको योगदान गरे। १५ बलमा सामना गर्दा एक छक्का र दुई चौका हिर्काएका करण नटआउट रहे।

बलिङतर्फ ओमानका आयान खानले दुई विकेट हात पारे भने ६ खेलाडीले एक-एक विकेट लिए। एक-एक विकेट लिनेको सूचीमा बिलाल र कलिमुल्लाहबाहेक जिशान मक्सुद, फायाज बट, अकिब इल्यास र जतिन्दर सिंह थिए।

ओमानका लागि मोहम्मद नदिमले सर्वाधिक ६५ रन बनाए। करण केसीले रोहितमार्फ क्याच गराउनुअघि नदिमले सन्दीप गौडसँग ९६ र आयान खानसँग ४४ रनको साझेदारी गरेका थिए।

नदिमपछि सबैभन्दा धेरै स्कोर गर्ने क्रममा गौडले ५६ बलमा ४६ रन बनाए। आयानको नाममा २८ रन रह्यो। त्यसअघि ओमानले मध्यम सुरुवात गरेको थियो। ओपनरद्वय काश्यप प्रजापति र जतिन्दर सिंहले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरे। काश्यपले २५ र जतिन्दरले १५ रन बटुलेका थिए। त्यसैगरी पराजित टिमका लागि फायाज बटले १९ र आदिल शाफिक्युले १३ रनको योगदान गरे।

बलिङतर्फ सन्दीपबाहेक करण केसीले पनि तीन विकेट हात पारे। त्यसैगरी दीपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए।

प्रकाशित: ८ वैशाख २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =