‘६० प्रतिशत अमेरिकी किशोरी डिप्रेसनमा’

हिमाल प्रेस ९ वैशाख २०८० १८:३३
‘६० प्रतिशत अमेरिकी किशोरी डिप्रेसनमा’ सांकेतिक तस्बिर

अमेरिकाका युवा संकटमा छन्। विशेष गरी किशोरीहरू। संकटका कारण हुन्, पढाइको चिन्ता, लकडाउनपछिका चुनौती, सामाजिक सञ्जाल।  अनुसन्धानहरूले अमेरिकी किशोरीहरू मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीको सामना गरिरहेको देखाएका हुन्।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन अर्थात् सीडीसीले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकाका ६० प्रतिशत किशोरी निराश र हतासमा छन्। सो समस्या किशोरहरूमा पनि नदेखिएको होइन। प्रतिवेदनमा अमेरिकाका युवा निराश मनोदशाबाट गुज्रिरहेको उल्लेख छ।

किशोरकिशोरीले भोगिरहेका यी समस्याको मुख्य जरो सामाजिक सञ्जाल हो त? यसबारे समाचार संस्था एपीले चार राज्यका पाँच किशोरीसँग कुराकानी गरेको थियो। घटनाको संवेदनशीलताका कारण किशोरीहरूको पहिलो नाममात्र बाहिर ल्याएको छ।

इलिनोई राज्यकी १६ वर्षीया अमिलिया शल्य चिकित्सक बन्न चाहन्छिन्। उनलाई गीत गाउन असाध्यै मनपर्छ। उनी यति बेला डिप्रेसनको सिकार भएकी छन्।

एकपटक आफूले आत्महत्याको प्रयाससमेत गरेको उनले बताइन्। सन् २०२० मा आत्महत्याको प्रयासपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। मनोपरामर्शदाताले उनलाई सहयोग गरेका थिए।

अमिलियाले स्कुलमा दुष्ट र गलत मनसाय भएको केटाको धम्कीको सामना गर्नुपर्‍यो।

सीडीसीको प्रतिवेदनअनुसार अमेरिकाका प्रत्येक १० मध्ये एकभन्दा बढी किशोरीले आफूलाई यौनसम्पर्कका लागि बाध्य बनाइएको बताएका छन्। किशोरीले भोग्ने समस्यामा यौन सम्पर्कको धम्की मात्र होइनन्, अरू पनि छन्। ‘हामी यस्तो संसारबाट बच्ने प्रयास गरिरहेका छौँ, जो हामीलाई दुःख दिन लागिपरेको छ,’ अमिलियाले भनिन्।

जर्जियाकी १८ वर्षीया एमा उदीयमान कलाकार हुन्। उनी पनि डिप्रेसनको समस्याबाट ग्रस्त छिन्। उनको चिन्ता पढाइ हो।

१५ वर्षीया जोई मिसिसिपीमा बस्छिन्। उनलाई एकल आमाले हुर्काएकी हुन्। उनीमाथि स्कुल र जीवनमा सफल हुने ठूलो दबाब छ। ‘स्कुलले पुर्‍याउने चोटले मानसिक स्वास्थ्यमा कतिसम्म नराम्रो असर पार्न सक्छ भन्ने कुरा कुनै मानिसले आफैँ नभोगेसम्म बुझ्न सक्दैन,’ जोईले भनिन्। कक्षामा एक्लै अश्वेत विद्यार्थी भएकाले उनले अनेक समस्या सहनुपरेको छ।

सुन्दर देखिनुपर्ने दबाबले पनि किशोरीहरूलाई डिप्रेसनको सिकार बनाइरहेको छ। ‘धेरैजसो पुरुषले केटीहरूको शरीरलाई यौनका दृष्टिले हेर्ने गर्छन्,’ एमाले भनिन्, ‘केटी/महिलामाथि सुन्दर देखिनुपर्ने, राम्री हुनुपर्ने दबाब हुन्छ।’

किशोरीहरूले भद्दा कमेन्ट, गलत स्पर्श र यौन धम्कीलगायत विभिन्न समस्या भोगिरहेका छन्। आफूहरूलाई त्यसरी हेरिएकोमा अमिलियालाई आपत्ति छ। ‘हामी बच्चा हौँ, हामीलाई त्यसरी गलत तरिकाले हेर्नु हुँदैन,’ उनले भनिन्।

न्युजर्सीकी १८ वर्षीया सियाले यौन दुर्व्यवहार सामान्यजस्तो भएको बताइन्। ‘मैले जानेका सबै केटीले यौन दुर्व्यवहार भोगेका छन्,’ उनले भनिन्, ‘मेरा लागि त यो सामान्य कुराजस्तै हो। कुनै केटी एक्लै कतै जाँदैछ भने उसले आफूलाई खतरामा पारेकी छे। यो डरबिना बाँच्न कस्तो होला?’

मिसिसिपीमा हाइस्कुलकी विद्यार्थी माकेनाले आफू र आफ्ना साथीले शरीरको आकृति नदेखिने खुकुला लुगा लगाउने बताइन्। ‘यति गर्दा पनि बाटोमा हिँड्दा केटाहरूले कमेन्ट गर्छन्,’ उनले भनिन्। यही कारणले उनी अवसादग्रस्त भइन्। उनलाई उपचार आवश्यक पर्‍यो।

सामाजिक सञ्जालले किशोरीहरूको समस्या थप गरिदिएको छ। सोसल मिडिया प्लेटफर्ममा आफ्नो बाहिरी रङरूपबारे युवाहरू बढी सचेत हुने गर्छन्। आफूलाई ‘पर्फेक्ट’ देखाउने दबाबले उनलाई डिप्रेसनतिर धकेलिरहेको छ।

‘सामाजिक सञ्जालले हाम्रो सोच्ने तरिकालाई पूरै बदलिदिएको छ,’ माकेनाले भनिन्। केटाहरूको तुलनामा केटीहरू डिप्रेसनको सिकार बढी हुने गरेका छन्। किनकि उनीहरू आफ्नो भावना र अनुभवबारे केटाहरूभन्दा बढी मुखर हुन्छन्। आपूmलाई ‘बहादुर’ देखाउने दबाबका कारण केटा खुलेर कुरा गर्दैनन्। अनि डिप्रेसनमा पर्छन्।

गत मार्चमा ‘द जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन’मा छापिएको एक अध्ययनअनुसार मानसिक स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना हुनेमा ६० प्रतिशत किशोरी हुने गर्छन्। एक दशकअघिसम्म यो फरक नाममात्रको थियो। कोभिड–१९ महामारीपछि समस्या बढेको देखिएको छ। एपीको सहयोगमा

प्रकाशित: ९ वैशाख २०८० १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast