 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            खार्तुम- सुडानको राजधानी खार्तूममा बिहीबार रमजानको अन्त्यको उपलक्ष्यमा मनाइने उत्सवअघि दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच भएको भिडन्त कम हुने संकेत देखिएको छैन। विस्फोट र गोली चलेको आवाज आएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को नेतृत्व गर्दै आएका मोहम्मद हमदान डग्लोप्रति वफादार सेनाबीच भएको झडपमा शनिबारयता ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ।
करिब ५० लाख मानिसको बसोबास रहेको राजधानी खार्तूममा केही भीषण युद्धहरू भएका छन् जसका कारण अधिकांश मानिस बिजुली, खाना र पानीबिना नै आ–आफ्नो घरभित्र रहन बाध्य बनेका छन्।
दक्षिणी खार्तूमका ३८ वर्षीय नाजेक अब्दाल्लाले भने, ‘लडाकू विमान र अन्य हवाई तथा स्थल आक्रमणका कारण हामी आज बिहान पनि ४ः३० बजे ब्यूँझेका थियौँ। हाम्रो भवनमा गोली नलागोस् भनेर हामीले ढोका र झ्यालमा ताल्चा लगायौँ।’
राजधानीको खार्तूम अन्तर्राष्ट्रिय विमानस्थल र सेनाको मुख्यालय वरपरका भवनहरूबाट बाक्लो कालो धुवाँको मुस्लो उडेको र गोली चलेको आवाज सुनिएको र युद्धविराम भएको भनिएको दिन पनि झडप भएको अधिकारीहरूले बताएका छन्।
डार्फरमा वर्षौँदेखि चरम हिंसाको नेतृत्व गरेको जन्जावीद लडाकु समूहका सदस्यहरूबाट गठित शक्तिशाली बल आरएसएफले बुधबार साँझदेखि सेनाले जस्तै २४ घण्टाका लागि पूर्ण युद्धविरामका लागि पूर्णरूपमा प्रतिबद्ध रहने बताएको थियो।
तर प्रत्यक्षदर्शीका अनुसार खार्तूममा गोली चल्न नरोकिएकोले दोस्रो पटक युद्धविराम सुरु भएको केही मिनेटमै अर्को युद्धविराम उल्लंघन भएको थियो। खार्तूमबाहेक उत्तरी कोर्डोफान राज्यको ओबेद सहरमा पनि ठूलो विस्फोट भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । रासस÷एएफपी

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 