मासिँदै कर्णाली सभ्यता

हिमाल प्रेस ७ वैशाख २०८० १५:३७
4
SHARES
मासिँदै कर्णाली सभ्यता हुम्लाको सर्केगाड गाउँपालिकास्थित कर्णाली नदी तटमा फ्याँकिएको फोहोर। 

कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको विस्तारसँगै प्रदूषण बढ्न थालेको छ।  सडक पूर्वाधारको विकास र विस्तार भएसँगै कर्णाली नदी प्रदूषित हुन थालेको हो भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो।

कर्णाली करिडोरको सडक विस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साविकको साँया गाविस र गोठी गाविसमा मानिसका साथै बाहिरी जिल्लाबाट बसाइँ सरेर सडक छेउछाउमा बस्न आउने क्रम बढ्न थालेको छ।

साँयाका ४ वटा गाँउका मानिसको दैनिक उपोभोग गर्ने सामानको मुख्य बजार भएका कारण पनि सर्केगाडमा बजार विस्तारको क्रम बढेको हो। बजार विस्तार बढ्न थालेसँगै कर्णाली नदी पनि दूषित हुन थालेको छ।

बजारबाट निस्किने फोहोर तथा ढल कर्णाली नदी किनारमा फाल्ने र नदी छेउछाउ खुला शौच गर्ने क्रम बढेका कारण कर्णाली नदी दूषित बन्दै गएको भन्दै स्थानीयले दुःखेसो पोखेका छन्। कर्णाली करिडोर निर्माण हुनुअघि यहाँका मानिस कर्णालीकै पानी पिउने गर्दथे।

करिडोर निर्माणसँगै बस्ती विकासको क्रम बढ्दा नदी दूषित हुन थालेपछि कर्णालीको पानी नुहाउन, लुगा धुन तथा भाँडा माझ्न मात्रै प्रयोग गर्न थालिएको स्थानीय बताउँछन्। स्थानीय रेलकला शाहीले शौचालयको ढल, खानेपानीको ढल निकासी गर्ने क्रम कर्णाली नदीमा बढेसँगै नदी प्रदूषित हुन पुगेको बताइन्।

उनले कर्णालीमा फोहोर बढ्दा पानी पिउन योग्य नरहेको बताइन्। अर्का स्थानीय भीमबहादुर सिंहले कर्णाली नदीको छेउछाउमा बस्ती बढेसँगै फोहोर बढेकाले पानी पिउन योग्य नरहेको बताए। मृत चौपाया पनि नदीमा नै फाल्ने गर्दा नदी दूषित भएको छ ।

कर्णाली करिडोरको सडक विस्तारसँगै विकासको धमिलो बाछिटा हुम्लाको पर्यावरणमा देखिन थालेको विषयमा भने स्थानीय सरकार अनभिज्ञ छ।

सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) कर्णाली नदीमा बजारको फोहोर फाल्ने गरेको विषयमा आफू जानकार नरहेको भन्दै अब बजार अनुगमन गरेर नियन्त्रण गर्न अभियान सञ्चालन गर्ने बताउँछन्।

हुम्लाको सर्केगाड गाउँपालिकाको एउटा बस्ती।

उनी भन्छन्, ‘ढल निकासी नदीमा गर्नु नराम्रो भएको भन्दै आफैँले उपभोग गर्ने पानीमा ढल मिसाउनु सरासर गलत हो।’  करिडोरअन्तर्गत यातायात सञ्चालन भएका हुम्ला जिल्लामा मात्रै नभई बाजुराका विभिन्न स्थानमा भएका बजारबाट निस्किने फोहोर पनि कर्णाली नदी किनारमा फाल्ने गरिएको छ।

बाजुराका पर्यटन व्यवसायी जनेश भण्डारीले कर्णाली नदी संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्ने बताउँदै नदीको पानी कैलाश जलको रुपमा उद्योग स्थापना गर्नुपर्ने बताए। उनले भने, ‘नदीको संरक्षण नगर्ने हो भने भविष्यमा पहाडी क्षेत्रका बासिन्दाहरुले पानी पिउन नपाउने स्थिति सिर्जना हुनेछ।’

साथै उनले कर्णालीको पानी पानी उद्योगका रूपमा विकास गरी विदेशमा निर्यात गर्न सक्नुपर्नेमा जोड दिए। भविष्यमा मानव सभ्यता जोगाउने भूमिका कर्णालीले खेल्ने उनको भनाइ छ।

कर्णाली करिडोरमा यातायात सञ्चालन भएसँगै हुम्ला जिल्लाको आन्तरिक उत्पादन पनि लोप हुन थालेको छ। यहाँका स्थानीय आन्तरिक उत्पादलाई प्रयोग गर्ने भन्दा पनि नेपालगञ्ज, रुपडिया लगायत तराईका जिल्लाबाट आयात गरी उपभोग गर्न थालेका छन्।

स्थानीय प्याराजंग शाहीले यातायात सञ्चालन हुँदा स्थानीय बासिन्दा काम गरेर खाने भन्दा पनि किनेर खानेमा निर्भर हुने गरेको बताए। हुम्लाको उत्पादनले बाहिरका बजारलाई विस्थापन गर्नुपर्नेमा बाहिरका सामग्रीले स्थानीय बजार विस्थापन गरेको छ।

आन्तरिक पर्यटक दीपक आचार्यले विकाससँगै विकृति पनि भित्रिरहेको महसुस गरेको बताए। कुल क्षेत्रफल मध्ये ४ हजार २ सय ६७ हेक्टर खेतीयोग्य जमिन रहेको हुम्ला जिल्लामा कोदो, फापर, चिनो, कागुनो, नाफल, चुली, मकै, सिमी, उवा, जौ, मासी धान, आलु, खामु, स्याउ लगायत अन्नबाली र फलफूल उत्पादन हुँदै आएको छ। तर सडक विस्तारका कारण परनिर्भरता बढेको छ। –न्युज एजेन्सी नेपाल

प्रकाशित: ७ वैशाख २०८० १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast