ललितपुरमा ‘यल कोसेली घर’ सञ्चालन

हिमाल प्रेस ७ वैशाख २०८० १४:०३
4
SHARES
ललितपुरमा ‘यल कोसेली घर’ सञ्चालन

ललितपुर– ललितपुर महानगरभित्र उत्पादित हस्तकलाका सामग्रीको उत्पादन, प्रवर्धन र बजारीकरण गर्न यल कोसेली घर सुरु भएको छ। ललितपुर महानगरपालिकाले ललितपुर हस्तकला संघसँग सहकार्य गरेर यल कोसेली घर सञ्चालनमा ल्याएको हो।

कोसेली घरमा ढाकाका लुगा, झोला, मूर्तिलगायतका सामग्री सुपथ मूल्यमा पाइने महानगरपालिकाले जनाएको छ।

कोसेली घर उद्घाटन गर्दै महानगर प्रमुख चिरीबाबु महर्जनले कलाकर्मीलाई प्रोत्साहित गर्न महानगरले कोसेली घरको सुरुवात गरेको बताए। हस्तकलाकर्मीलाई पेसाबाट पलायन हुन नदिनु यो घर खोल्नुको मुख्य उद्देश्य भएको उनले जानकारी दिए। महर्जनले भने, ‘यो घरले ललितपुर महानगरभित्रका हस्तकलाका सामग्रीलाई नेपालभित्र र विभिन्न मुलुकमा पुर्‍याउन मद्दत गर्छ।’ ललितपुर आउने पर्यटकलाई कोसेली घरमा आउने व्यवस्था मिलाउने तयारी भइरहेको महानगरले जनाएको छ।

महर्जनले भने , ‘हामीले धेरै पहिला देखि यो घरको तयारी गरेका हौँ। कोभिड-१९ महामारीले सकेनौँ। यो घरले महानगरभित्रका उत्पादनलाई विदेश पुर्‍याउन सहयोग गर्छ।’  कला नगरको एक महत्त्वपूर्ण तत्त्वमध्ये कोसेली घर एक भएको उनले प्रस्ट पारे। ललितपुर महानगर विश्वको ३५ औँ कला कला नगरी हो।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यल कोसेली घर सञ्चालन गर्नुको मुख्य उद्देश्य हस्तकलाको संरक्षण भएको बताइन्। प्रत्येक घरलाई आत्मनिर्भर बनाउने हस्तकलाकर्मको संरक्षणका गर्न महानगरले यस्तो कार्यको थालनी गरेको उनको भनाइ छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मौलिकता जोगाउन ललितपुर महानगरले सराहनीय काम गरेको बताए। ललितपुर महानगरको समृद्धिमा यल कोसेली घरको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले कोसेली घरले सीप र पुँजीलाई बजारसँग जोड्ने बताए। कोसेली घरको प्रचारप्रसारका लागि एयरलाइन्सको मुखपत्रमा सामग्री समावेश गर्ने विषयमा छलफल भएको जानकारी उनले दिए।

ललितपुर महानगर-२६ का वडा अध्यक्ष एवम् हस्तकला प्रवर्धन समितिका सदस्य सुरेश महर्जनले कोसेली घरले कला नगरीको पहिचान संरक्षण गर्न सघाउ पुग्ने बताए। कार्यक्रममा हस्तकला संघका अध्यक्ष प्रचण्ड शाक्य, ललितपुर हस्तकला संघका अध्यक्ष रमेश सिंह लगायतले कोसेली घरले हस्तकलाको संरक्षणसँगसँगै हत्कलाकर्मीलाई पेसामा लाग्न प्रोत्साहित गर्ने बताएका थिए।

प्रकाशित: ७ वैशाख २०८० १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast