दाङ- सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडा नं ८ स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको संख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको संख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर वनजंगलको बीचमा अवस्थित दह देखेपछि त्यहाँ पुग्ने जो कोही पनि दंग र्पदै रमाउने गर्दछन्।
एक हप्ताअघि उक्त दहमा भेटिएकी तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी सुशिला भटृराई त्यहाँको वातावरण देखेर निकै खुसी भइन्। ‘यति राम्रो प्राकृतिक दृश्य देख्दा पाइएको आनन्दबाट धेरै सन्तुष्टि मिलेको छ,’ उनले भनिन्। आफ्नी बहिनी र छोराछोरीसँगै पुगेकी भटृराईले चार घण्टा दह क्षेत्रमा बिताउन पाउँदा आनन्दको अनुभूति गरेको बताइन्।
‘यति कञ्चन दहलाई स्वदेश तथा विदेशमा चिनाउन प्रचारप्रसार गर्न र नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा विकास गराउन सके यसले कर्णाली जिल्लाको सल्यानका साथै आसपास जिल्लाका गाउँको विकासमा समेत टेवा पुग्न सक्ने देखिन्छ,’ उनले थपिन्, ‘सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजा आराधना गर्न गएको समयमा कुपिन्डे दह र त्यहाँको बराह मन्दिरसम्म पुगेकी हुँ। सो दह निकै सुन्दर रहेछ देख्दा निकै मनमोहक लाग्यो।’
बाँकेको कोहलपुरबाट उक्त दह हेर्नकै लागि साथीहरूसँगै पुगेकी कालिका रेग्मी पनि यहाँको वातावरणमा रम्न पाउँदा निकै खुसी देखिइन्। उनले दहमा डुंगा चढेर जलविहार गर्नुका साथै यादहरुलाई तस्बिरमा कैद गर्न पाउँदा निकै आनन्द आएको बताइन्।
तुलसीपुर उपमहानगरपालिका–५ की निरा ढुंगानाले पनि यो दह अद्वितीय सम्पदा भएकाले यसको संरक्षणका लागि सबैजना लाग्नुपर्नेमा जोड दिइन्। दहसम्म पुग्ने मोटरबाटो कालोपत्र गर्न र दहदेखि केही टाढा चमेना गृह तथा होटल सञ्चालन गरिएमा पर्यकटलाई सुविधा हुने बताइन्।
कुपिन्डे दहमा डुंगा चलाउँदै आएका हरिशचन्द्र पुरीले यस दहको पानीले वर्षमा तीन पटकसम्म रंग बदल्ने गरेको बताए। प्रायः निलो देखिने दहको पानी माघ–फागुन महिनामा रंग खैरो र रातो बन्छ भने वर्षाको समयमा बाढी पस्दा पनि पानी कहिल्यै धमिलो नहुने उनको दाबी छ।
गर्मी महिनामा दहको अवलोकन गर्न र डुंगा चढेर सयर गर्न टाढाटाढाबाट आउने पर्यटकहरूको संख्या बढ्ने गरेको उनी बताउँछन्। डुंगा चढेर पूरै दह अवलोकन गरेबापत दुई सय शुल्क लिने गरिएको र मासिक कम्तीमा पनि २० हजारभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ।
कुपिन्डे दह संरक्षण समिति अध्यक्ष चेतबहादुर कुँवरले २०६७ सालदेखि मात्रै यो दहको चर्चा सुरू भएको बताए। उनका अनुसार उक्त दहको छुटृै विशेषता छ। वरिपरि घना जंगल भए पनि यसमा एउटा पनि पात भेटिँदैन। पात खस्नासाथ आफैँ किनारमा पुग्छन्। नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ। यो दह चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान पनि हो।
कुपिन्डे दहको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार २ सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर रहेको छ। दहले कति क्षेत्रफल ओगटेको छ भन्ने बारेमा एकिन जानकारी नभएको बताइन्छ। दहमा पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने पनि स्पष्ट जानकारी यहाँका बासिन्दामा छैन।
‘यो दहको देखिने मुहान पनि छैन र निकास पनि छैन तर वर्षामा दहमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो विस्तारै घट्दै जाने गरेको छ,’ अध्यक्ष कुँवरले भने। यसको देखिने निकास नभए पनि पश्चिमतर्फको भागबाट जंगलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुन सक्ने अनुमान गरिएको छ।
दहमा स्वदेशी तथा विदेशी पर्यटकलाई धेरै संख्यामा भित्र्याउन सके जिल्लाको मुहार नै फेर्न सकिने कुपिन्डे दह संरक्षण समितिका पदाधिकारी बताउँछन्। त्यसका लागि दह क्षेत्रमा पुग्ने बाटो कालोपत्रे हुनुपर्ने, पर्यटकहरूका लागि बास बस्ने होटल तथा चमेना गृह तथा भौतिक पूर्वाधारको विकास हुनुपर्ने र दह क्षेत्रमा सुरक्षाका लागि उचित व्यवस्था हुनुपर्नेमा सरोकारवालाले जोड दिए। -नारायणी रजौरे/रासस